" >
७५३ वटै पालिकाहरुमा शैक्षिक गुठी लागु गर्न सकिने नेपालको कानूनमै व्यवस्था छः प्रप्रअ जय कुमार साह - Jaleshwortoday

७५३ वटै पालिकाहरुमा शैक्षिक गुठी लागु गर्न सकिने नेपालको कानूनमै व्यवस्था छः प्रप्रअ जय कुमार साह

 ३ आश्विन २०८१, बिहीबार १८:११  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ असोज

जलेश्वर नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत तथा पूर्व शिक्षा शाखा प्रमुख जय कुमार साहले ७५३ वटै पालिकाहरुमा शैक्षिक गुठी लागु गर्न सकिने व्यवस्था नेपालको शिक्षा ऐनमै व्यवस्था रहेको बताउनु भएको छ ।
प्रप्रअ साहले जलेश्वर नगरपालिका शिक्षा ऐन २०७५ अन्तर्गत अहिले सम्म जलेश्वर नगरपालिका भित्र नीजि शैक्षिक गुठी अन्तर्गत ५ वटा विद्यालयहरु संचालनमा रहेको बताउनुभयो । साथै साहले अहिलेसम्म सो विद्यालय कक्षा ६ सम्म संचालनमा रहेको बताउनुभयो । साहले ती विद्यालयहरु समयमै दर्ता,ईजाजत प्रमाणपत्र,प्यान पाई समयमै लेखापरिक्षण,व्यापार कर लगायतका शुल्क बुझाई संचालनमा रहेको समेत जानकारी गराउनुभयो । कानून भनेको महोत्तरी जिल्लाको लागि मात्र नभई समग्र नेपालको लागि रहेकोले नयाँ विद्यालय संचालन गर्न शैक्षिक गुठी ऐन अन्तर्गत ईजाजत पाउनुपर्दछ । साहको अनुसार महोत्तरीको बलवा,लोहारपट्टी,एकडारा लगायतका पालिकाहरुमा नीजि शैक्षिक गुठी अन्तर्गत विद्यालयहरु संचालनमा छन् ।
त्यसैगरी यसै सम्बन्धमा एकडारा गाउँपालिकाको शिक्षा शाखा प्रमुख शिव शरण दासले ७ वटा विद्यालयहरु नीजि शैक्षिक गुठी अन्तर्गत यस पालिकामा संचालनमा रहेको बताउनुभयो । संचालित विद्यालयहरु कक्षा ६ सम्म संचालनमा रहेको समेत जानकारी प्रमुख दासले गराउनुभयो । साथै शैक्षिक गुठी अन्तर्गत बाल शिक्षा दर्ता निःशुल्क रहेको र आधारभूत विद्यालय दर्ताको लागि ५० हजार विद्यालयको नाममा जम्मा गर्नुपर्ने तथा कक्षा १ बाट अर्काे कक्षामा कक्षा बृद्धिको लागि २ सयदेखि ३ सय रुपैया राजस्व शुल्क लिने प्राबधान रहेको प्रमुख दासले जानकारी गराउनुभयो ।
त्यसैगरी महोत्तरीको मनरासिस्वा नगरपालिकाको शिक्षा संयोजक श्याम नन्दन सिंहले यस पालिकामा अहिलेसम्म शैक्षिक गुठी अन्तर्गत विद्यालयहरु संचालनमा नरहेको तर हामी शैक्षिक गुठी अन्तर्गत दर्ता तथा ईजाजत दिनको लागि ढोका खोलेर राखेको बताउनुभयो । केहि विद्यालयहरु ईजाजत नलिई संचालनमा रहेकाले ती विद्यालयहरुलाई शैक्षिक गुठी अन्तर्गत दर्ता दिन हामी तयार रहेको समेत जानकारी संयोजक सिंहले गराउनुभयो ।
नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधामले बिगत ६/७ वर्षदेखि जनकपुरधामका नीजि विद्यालयहरुलाई शैक्षिक गुठी अन्तर्गत ईजाजत नदिएको बिरुद्धमा २०८१ साल भाद्र २६ गते नगरप्रमुख मनोज कुमार साहलाई ईजाजत दिन ७ दिने अल्टिमेटम दिए पनि अहिलेसम्म जनकपुरधाम उपमहानगरको नगर प्रमुख र शिक्षा तथा खेलकुद महाशाखाले कुनै पनि प्रतिक्रिया नदिएको जानकारी नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालयले जानकारी गराएको छ । जवकी शिक्षा ऐन २०२८ को दफा ३,जनकपुरधाम उपमहानगरपालिका शिक्षा ऐन २०७७,दोस्रो संशोधन मिति २०७९।०३।१० को बँुदा नं.— ५ को उपबँुदा १,२ र ३ को बमोजिम,शिक्षा नियमावली २०५९ को नियम ११ को व्यवस्था बमोजिम सार्वजनिक वा निजी शैक्षिक गुठीको विधान बमोजिम र नयाँ विद्यालय संचालन गर्ने तथा अनुमति दिने नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी हकको (५) मा उल्लेख छ । यस सम्बन्धमा छिट्टै निर्णय लिने समेत नेसपाको कार्यालय स्रोत व्यक्तीले जानकारी गराए ।

Ijajat Praman Patra