हवाई क्षेत्रको समस्याबारे छानविन गर्न ५ सदस्यीय समिति गठन, तीन महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन – Jaleshwortoday

हवाई क्षेत्रको समस्याबारे छानविन गर्न ५ सदस्यीय समिति गठन, तीन महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

 September 29, 2021  
Ministry

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ असोज
आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बुधबार बसेको बैठकले नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानविन समितिको गठन गरेको हो ।
समितिको सदस्यहरूमा प्राधिकरणकै पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सि.ए.टि.सि.अ. प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् ।
उक्त समितिले हाल हवाई उडानको दौरानमा हुन सक्ने घटना तथा दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न प्राधिकरण र सम्बन्धित कम्पनीहरूबाट भईरहेको पिरियोडिक मेन्टेसेन्स, अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियम (आइकाओ) को मापदण्डको परिपालना लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्नेछ ।
समिति गठनको मितिले तीन महिना भित्र अध्ययन प्रतिवेदन बुझाइसक्न भनिएको छ । सरकारले छानबिनका लागि ८ कार्यक्षेत्र तथा शर्त समेत तोकेको छ ।