उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आत्महत्या – Jaleshwortoday

उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आत्महत्या

 September 30, 2021  
Murder

जलेश्वरटुडे समाचारदाता
धनुुषा, १४ असोज
धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् ।
उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् । कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले यौन दुर्व्यवहार गरेको आरोपका साथ परिवारले स्थानीय प्रहरी चौकीमा उजुरी दिएको थियो । ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा जबर्जस्ती थमाएको बताइन्छ । दुर्व्यवहारबारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको मृतकका पिता सुरेश कामतले बताए । प्रहरीले गाउँमै घटना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ । वडा कार्यालयमा भदौ २५ मा सो घटनाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । दुर्व्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै टुङ्गोमा नपुगेको वडा अध्यक्ष हरिचन्द्र कामतले जानकारी दिए । न्यायमा ढिला हुँदा बालिकाले आत्महत्या गरेको स्थानीयवासी धुपु कापरले बताए । ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदा समेत प्रहरीले कारवाही प्रक्रिया नबढाउँदा बालिकाले आत्महत्या रोजेको उनको भनाइ छ । इप्रका खजुरीका इन्सपेक्टर रवि मैनालीले पीडित परिवारले उजुरी दिँदा पीडित बालिकालाई नल्याएका कारण दर्ता प्रक्रिया अघि बढ्न नसकेको बताए । पीडित परिवारको उजुरीको आधारमा आरोपित तीन जनालाई प्रहरी कार्यालयमा बोलाएर आफूहरुले सोधपुछसमेत गरेको उनको भनाइ छ । घटना अनुसन्धानको क्रममा पीडित बालिकाको समेत बयान आवश्यक रहेकाले उनलाई बोलाएको तर नआउँदा आफूहरुले घटना दर्ता गर्न नसकेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा बालिकाको शव पोस्टमार्टम गरिएको छ ।