शुक्रबार झिझिया महोत्सवको आयोजना हुने – Jaleshwortoday

शुक्रबार झिझिया महोत्सवको आयोजना हुने

 २ कार्तिक २०८०, बिहीबार २३:१३  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, २ कार्तिक

नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर शुक्रबार झिझिया महोत्सवको आयोजना गर्न लागिएको नव मिथिला फाउण्डेसनले जनाएको छ ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार पहिलोपटक पाँच सय जना टाउकोमा झिझियामा घैँटो राखेर झिझियाको गीतमा नाच्ने योजना समेत ।

महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चा–परिचर्चा समेत गरिने छ । झिझियाको विषयमा मन्थनका लागि सत्रको आयोजना गरिने छ जसमा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि, संगितकार एवं गायक सुनिलकुमार मल्लिक, मैीथलीका कलाकार रामनारयण ठाकुर र शान्ति सदालाई वक्ताको रुपमा समावेश गरिएको छ । सो सत्रको सञ्चालन संचारकर्मी प्रतिभा झाले संचालन गर्ने छिन् । यसका साथै मैथिलीका बरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्र प्रसाद विमलले समेत झिझियाको भूत, वर्तमान र भविश्यको विषयमा आफ्नो विचार राख्ने छन् ।

विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सवको आयोजना गर्दै आएको फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालले झिझिया महोत्सवमा यसको मौलिकतामाथी कुनै किसिमको प्रहार हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

‘झिझिया लोप हुँदै गएको छ । यसको जगेर्ना हाम्रो जिम्मेवारी हो,’ उपाध्यक्ष नेपालले भने, ‘झिझियाको महत्व र औचित्य नयाँ पुस्ताले पनि बुझोस् भन्ने ध्येयले अब प्रत्येक वर्ष झिझिया महोत्सव गर्नेर्छौँ ।’