जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ कार्तिक
जनकपुरधाम सहित मिथिलाञ्चलको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ ।
बडाँ दसैँको आठौं दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
राजा जनकको कुलदेवीका रुपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरु खोँइँछ भर्ने गर्दछन्। मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो। सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन्।
पण्डीत लालबाबु झाका अनुसार मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ। ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ। झाले भने, “खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरु दुर्गामाताको खोँइछ भर्ने गर्दछन्।”
खोँइछ भर्नका लागि हजारौँको सङ्ख्यामा महिलाहरु राजदेवी मन्दिर सहित रामानन्द चोक, मुरली चोक लगायतका स्थानमा खोँइछ भरिरहेका छन्।
त्यस्तै प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ। जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ। त्यसका लागि नेपाल सहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोका बलिका लागि जनकपुरधाम पुग्ने क्रम जारी रहेको छ। प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ।