
आज जलेश्वर टुडे दैनिक पत्रिकाले १० औं वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको सहर्ष जानकारी गराउँन चाहन्छु । यस पावन तथा धार्मिक वार्षिकोत्सवको अवसरमा जलेश्वरनाथको नगरीबाट संचालित यस पत्रिकाको परिवारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध सम्पूर्ण आदरणीय पाठक,विज्ञापनदाता,पत्रकार,कर्मचारी,वितरक,बिक्रेता तथा शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आज यो दैनिक पत्रिका स्थानिय,प्रदेश तथा राष्ट्रिय स्तरमा जुन साख तथा प्रशंसा बटुल्न सफल भएको छ यसमा पक्कै पनि सबैको आशिर्वाद र सहयोगले भएको म विश्वास गर्दछु । खास गरेर यस पत्रिकाको स्थापना कालमा आफ्नो अमुल्य समय र मिहिनेतले सहयोग गर्ने पाठक,विज्ञापनदाता,पत्रकार,कर्मचारी,वितरक,बिक्रेता तथा शुभेच्छुकहरुलाई विशेष रुपमा धन्यबाद दिनुको साथै आभार व्यक्त गर्न चाहन्छु । साथै अगामी दिनहरुमा यस दैनिक पत्रिकाले सबै सरोकारबालाहरुबाट अझैं माया,स्नेह,सहयोग तथा सुझावहरुको अपेक्षा राखेको कुरा अवगत गराउँन चाहन्छु । तपाईहरुकै सहयोग र सदभावबाट अहिले जलेश्वरटुडे डट कम अनलाइन र जलेश्वर टुडे यू टुव च्यानल समेत संचालनमा रहेको सहर्ष जानकारी गराउँन चाहन्छु ।
हाम्रो देश नेपाल अहिले आर्थिक मन्दीको चपेटामा परेको बखत सबैले हातेमालो गरी एक अर्कालाई सहयोग गर्न आवश्यक रहेको देखिन्छ भने सरकारले यस्तो बखत विशेषज्ञहरुको सल्लाह सुझावलाई आत्मसात गरी अगाडी बढन आवश्यक रहेको देखिन्छ । कुनै पनि देशको अर्थतन्त्र मजबुत हुन त्यहाँको आर्थिक गतिबिधिले प्रभाव पार्दछ । आर्थिक गतिबिधि त्यहाँको सरकारको आर्थिक नीति तथा रणनीतिमा भर पर्दछ । हाम्रो सुन्दर,शान्त तथा रमणीय देश नेपाल आफैमा प्राकृतिक रुपमा धनी हो । तर अहिले सम्म हामीले यस प्रकृतिको अपार भण्डार तथा स्रोतहरुलाई सदुपयोग गर्न सकेका छैनौं । तसर्थ हामी अरुमाथि आश्रित हुनु भन्दा आफ्नो खुट्टामा उभिनु राम्रो हुन्छ भन्ने कुरा हामी परापुर्व कालदेखि अवगत छौं । तर व्यवहारमा लागु गर्न कठीन भए पनि यसको प्रयोग तथा अनुसन्धान गर्ने बेला आइसकेको जस्तो मलाई लाग्दछ । मेक इन नेपालको भावनालाई सर्बत्र फैलाई सबैमा उर्जा तथा साहस थप्न आवश्यक रहको देखिन्छ । सबै निकायले व्यवसाय बन्द गराउनु भन्दा पनि व्यवसाय तथा संस्थालाई प्रोत्साहन गर्न तथा कानुन सम्बत रहन मौका प्रदान गर्न आवश्यक रहेको देखिन्छ । देशमा अहिले पनि निःस्वार्थ तथा देश बनाउने केहि इमानदार आधुनिक शक्ति तथा राजनीतिज्ञहरुको खाँचो रहेको देखिन्छ । मात्र चुनाव जित्ने र कुर्सिमा आसिन हुने नेतृत्वबाट देशको विकास असम्भव रहेको देखिन्छ ।
२०८० साल कार्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई शक्तिशालि भुईकम्पका कारण सहादत प्राप्त नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यिनीहरुको सहयोगमा जुटन सम्बन्धित सरोकारबालाहरु तथा आम नागरिकहरुसँग आग्रह समेत गर्दछु । अन्त्यमा दीपावली तथा छठ्को शुभकामना दिदै बाबा जलेश्वरनाथ महादेवले सबैको कल्याण गरुन भन्ने कामना गर्दछु ।
प्रकाशक तथा सम्पादक
प्रा.पवन कुमार साह