जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ कार्तिक
सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ ।
आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री भइसकेका छन् । बलिउड व्यापार विश्लेषक अक्षय राठी र रमेश बालाले फिल्मको ओपनिङमा उछाल आउने प्रक्षेपण गरेका छन् । राठीले भारतमा फिल्मको पहिलो दिनको कमाइ ३० देखि ३५ करोड भारु हुने प्रक्षेपण गरेका छन् । लक्ष्मीपूजाको भोलिपल्ट व्यापारमा वृद्धि भएर कमाइ ५० करोड भारु पुग्ने उनको विश्लेषण छ । ‘सम्भवतः यो बलिउडकै सर्वाधिक ग्रसर फिल्म बन्न सक्छ,’ उनले भने । रमेश बालाले भने, ‘पहिलो दिन भारतमा अधिकतम ३०-३५ करोड भारुको अपेक्षा छ । कतिपय देशमा भने यो लक्ष्मीपूजाअघि नै प्रदर्शन हुनेछ । त्यसैले दीपावलीको समयमा फिल्मले ७५ करोडदेखि १०० करोड भारुको कमाइ गर्न सक्छ ।’ सलमानको फिल्म करिअर ३५ वर्ष पुगेको छ । पछिल्लो ६ वर्षमा उनका कुनै पनि फिल्मले ब्लकबस्टर कमाइ गर्न सकेका छैनन् । ‘किसी का भाइ किसी की जान’, रोध : योर मोस्ट वान्टेड भाइ, रेश ३, भारत र दबंग ३ ले खास कमाउन सकेनन् । यसर्थ, सलमानका लागि ‘टाइगर ३’ महत्वपूर्ण छ । यसबारेमा बालाले भने, ‘टाइगर ३ उनका लागि निकै महत्वपूर्ण छ । शाहरुख खानले एक हजार करोड हिट दिएका छन्, त्यसैले प्रतिस्पर्धा बढी छ । टाइगर ३ ले कम्तीमा ७०० करोड भारु कमाउनुपर्छ, नभए एक हजार करोड भारु । त्यो उनको लागि राम्रो हुनेछ । यो एक फ्रेन्चाइजी पनि हो, त्यसैले आशा छ कि यसले उसलाई त्यो स्तरमा पुर्याउन सक्छ ।’ अक्षय राठी भन्छन्, ‘नि:सन्देह उनले सुपरस्टारको कदजस्तो हिट फिल्म दिएनन् । तर यो ठूलो निर्माण कम्पनी हो । म पक्का छु कि उनको स्टारडम टाइगर ३ बाट फर्किनेछ ।’ नेपालमा बिहीबार बेलुकादेखि नै अग्रिम टिकट बिक्री खुला भएको छ । अग्रिम बुकिङको ट्रेन्ड हेर्दा पहिलो दिन नेपालमा ‘टाइगर ३’ को ओपनिङ एक करोडदेखि डेढ करोड रुपैयाँको बीचमा हुन सक्छ ।