जलेश्वरटुडे समाचारदाता
बर्दिबास, २७ कार्तिक
महोत्तरीको बर्दिबासमा संचालित रोयल के.टि.एम.दोहोरी साँझ एण्ड बारको संचालक सविना आछामी सार्कीले सुरक्षाको लागि गुहारेकी छिन् । बर्दिबास नगरपालिका अन्तर्गत वडा नं.—१ मा संचालित सो बारको संचालक सार्की तथा सहसंचालक सुमन सेन्चुरीले हामीहरुलाई दिनहँु त्यहाँको ड्युटीमा खटेका प्रहरीले धाकधम्की सहित विभिन्न किसिमको अभियोग लगाई जरिवाना समेत तिराएको बताएका छन् । पसल चलिरहेको बेलामा समेत ग्राहकहरुलाई भागाभाग गराएर आर्थिक क्षतिको साथै व्यापार नै चौपट गराएको सेन्चुरीले बताए । हामीले कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंबाट कम्पनी दर्ता प्रमाणपत्र(दर्ता नं.—२९३३७८।७८।०७९०),स्थायी लेखा नम्बर,नगरपालिकाको ईजाजत प्रमाणपत्र,होटेल व्यवसायी सदस्यता प्रमाणपत्र आदि कागजातहरु आफूसँग चुस्तदुरुस्त राखे पनि मात्र हामीलाई निशाना बनाएर व्यवसाय नै ध्वस्त पार्ने परिवेश सृजना गरिएकोमा सम्बन्धीत सरोकारबालाहरुसँग व्यापार सुरक्षा सम्बन्धी गुहारेका हौं उनले बताए । जवकी बर्दिबासमा बिना दर्ता प्रमाणपत्रको प्रहरीकै संरक्षणमा धेरै नै बार तथा होटेलहरु अबेर रातिसम्म संचालमा छन् जसको कुनै खोजविन छैन उनले बताए । कमिसन दिनेलाई दर्ता नभए पनि अबेर रातिसम्म संचालन गर्न दिएको र हामीलाई सबै कुरा मिले पनि जरिवाना समेत तिराएको आरोप सेन्चुरीले लगाएको छ । मैले यस सम्बन्धमा महोत्तरी जिल्लाको एसपी तथा सिडिओलाई समेत जानकारी गराए पनि मेरो समस्या समाधान नभएको सहसंचालक सेन्चुरीले बताए । यस सम्बन्धमा उद्योग वाणिज्य संघ र होटेल वाणिज्य संघ बर्दिबासलाई समेत अवगत गराए पनि समाधान दिनुको साटो प्रहरीबाट जरिवाना तिराएको सेन्चुरीले बताए । आफ्नो होटेलमा हुक्का राखेको छु जसलाई गाँजा र दोहोरी साँझलाई रण्डीखाना भनेर आरोप लगाएको छ प्रहरीले । म भन्छु यदि त्यस्तै हो भने प्रमाणको लागि मैले सिसि क्यामराहरु जडान गराएको छु । त्यसैलाई जाँचपडताल गर्दा हुन्छ सेन्चुरीले बताए । तर जाँचपडताल नगरिकन कसैको प्रतिष्ठासँग खेलबाड गर्नु कहाँको कानुन हो । मैले सरकारलाई कर तिरिरहेको छु ,त्यसकारण हाम्रो शान्ति,सुरक्षा तथा क्षतिको समेत जिम्मा स्थानिय सरकार,प्रदेश सरकार तथा संघीय सरकारले लिनुपर्दछ सेन्चुरीले आक्रोस पोखे । यता बर्दिबास नगरपालिकाबाट कुनै अवरोध भएको छैन भने कुनै किसिमको यसको समाधान नआएकोले कार्यालय खुलेको दिन शान्ति सुरक्षाको लागि निवेदन दर्ता गराउने बताए ।