जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ४ मंसिर
अघिल्ला वर्षमा उनी यतिबेला छोराछोरीको सुखको कामना गर्दै छठको व्रत बस्ने गर्थिन । छठी माईसँग परिवारको दुःखकष्ट हटोस् भन्ने कामना गर्थिन् । धनुषाकी निर्मला साह यस वर्ष भने तिनै सन्तानको न्यायका लागि भन्दै धर्नास्थलमा छिन । दाइजोको निहुँमा छोरी आरतीले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै धर्नामा रहेकी उनले त्यही मनोकांक्षा राखेर छठको व्रत पनि बसेकी छन । छोरी आरतीको हत्या भएको भन्दै विरोधमा उनको परिवार न्याय माग्दै माइतीघर मण्डलमा १ सय ५८ दिनदेखि धर्नामा छ । सडकमै छठ पर्व मनाएका आरतीका परिवारको माग अझै पूरा भएको छैन । ‘ छोरीको हत्यारालाई जेल पु¥याऊ छठी माई भन्दै व्रत बसेकी छु,’ निर्मला भन्छिन्, ‘देवीले सुन्छिन् कि भन्ने आशा छ ।’ माइतीघर मण्डलको चिसो भुइँमा दिनरात काट्दै आएकी उनीसँग छठी माईलाई पुज्ने सामग्री छैन । छ त केवल मनभरि आस्था र पीडा । उनी तीन दिनदेखि व्रत बसेकी छन । जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीका माइती पक्ष न्यायको आसमा असोज १ देखि धर्ना छन । गत जेठ ६ मा दाइजोको निहुँमा आरतीको हत्या भएको माइतीपक्षको आरोप छ । स्नातक दोस्रो वर्ष पढ्दापढ्दै बिहे पछि पनि पढाउने सर्तमा उनको मोतीबाबुसँग बिहे भएको थियो । बिहे गर्नुअघि दाइजोको मागअनुसार आरतीका बुबा विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए । केटा पक्षले लगाउने लुगादेखि गरगहनासम्मको खर्च आरतीकै बुबाआमाले बेहोरेको बताउँछन । घटनापछि जेठ ८ मा आरतीको माइती पक्ष उजुरी गर्न धनुषा प्रहरी प्रशासनमा पुगेको थियो । तर, प्रहरीले उजुरी लिन अस्वीकार गरेपछि उनीहरू काठमाडौं माइतीघर मण्डलमा धर्ना बस्न आए । धर्नापछि प्रहरीले आरतीका ससुरा मदन मोहन र पति मोतीबाबुविरुद्ध जाहेरी दर्ता गरेको थियो । उनीहरूलाई धनुषा जिल्ला अदालतले थुनछेकको आदेश दिएको थियो । उक्त आदेश बदर गरिपाउँ भनी पीडक पक्षले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएपछि अदालतले पनि आरोपित दुवैलाई साधारण तारिखमा छोडिदियो । त्यसपछि पीडित पक्षका तर्फबाट उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा असोज २६ मा मुद्दा दायर भएको छ । मंसिर ६ बुधबार मुद्दाको पेसी तोकिएको छ । पीडित परिवारले सासू रेणु र देवर रविसमेतलाई पक्राउ गर्न प्रहरीसमक्ष उजुरी दिँदासमेत कुनै प्रक्रिया नबढाइएको बताएका छन् । अझ मुख्य आरोपित आरतीका श्रीमान् र ससुरालाई उच्च अदालतले साधारण तारिखमा छोडेपछि झन् पीडामा रहेको पीडित पक्षले जनाएको छ । मन्त्रालयमा छलफल गरेर छिट्टै समस्याको सम्बोधन गरिने भनिए पनि अहिलेसम्म कुनै जानकारी नआएको आरतीका मामा सन्तोष साहले बताएका छन् । ‘धर्नामा बस्दाबस्दै बिरामी भइसकियो, न्याय पाउन ढिला भयो,’ उनले भने ।साभारकान्तिपुर