जनकपुरधाममा रामजानकी विवाह महोत्सव मंसिर २६ देखि शुरु – Jaleshwortoday

जनकपुरधाममा रामजानकी विवाह महोत्सव मंसिर २६ देखि शुरु

 १२ मंसिर २०८०, मंगलवार २२:३९  
sarba-pakchiya-baithak-janakpur-e1701090347433

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ मंसिर

प्रत्येक वर्ष धुमधाम साथ जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवको तयारी थालिएको छ । यही मंसिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवको तयारी सन्दर्भमा आइतवार जानकी मन्दिरमा सर्वपक्षीय बैठक समेत सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाउने गरीन्छ। प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाउने चलन रहेको छ । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्वरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।