परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुनुपर्नेः प्रधानमन्त्री प्रचण्ड – Jaleshwortoday

परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुनुपर्नेः प्रधानमन्त्री प्रचण्ड

 १९ मंसिर २०८०, मंगलवार २२:०९  
55

जलेश्वरटुडे समाचारदाता
गौशाला, १९ मंसिर

नेपाल कम्युस्टि पार्टी (माओवादी केन्द) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुनुपर्ने बताउनु भएको छ । मङ्गलबार महोत्तरीको गौशालामा आयोजित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘मैले पार्टी अध्यक्षको नाताले, देशको प्रधानमन्त्रीको नाताले देश दुनियाँ जसरी देखेको छु। त्यसरी हेर्दा हाम्रो पार्टी मात्रै कमजोर हुने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ।’’ उहाँले माओवादीबाहेक कसैले देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा काँध नथाप्ने बताउनुभयो। ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेर कुनै निरङ्कुशतन्त्र आयो भने यो देश टिक्नेबाला छैन। देशको अस्तित्व खतरामा पर्छ। माओवादीबाहेक अरु कसैले वा कुनै पार्टी विशेषले देशको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पक्षमा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काँध थाप्नेबाला छैन’’, उहाँले भन्नुभयो। “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो”, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भन्नुभयो, “यसको स्थायित्व र सबलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।” स्वार्थभन्दा माथि उठेर काम गर्न उहाँले निर्देशन दिनुभयो । अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल गर्नुभयो । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउन सञ्चालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” एक महिना थप गरिएको घोषणासमेत गर्नुभयो। माओवादी र जनताको सम्बन्ध सुदृढ र सुमधुर बनाउन रुपान्तरण अभियानको समयावधि थप गर्नुपर्छ भन्ने कुरा कार्यकर्ताबाट आएपछि एक महिनाका लागि अभियान थपिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘अब फेरि सयम थप्दैनौ। अभियान सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ। समग्र अभियानको समीक्षा गरे लगत्तै विधान सम्मेलन गर्छौं। त्यसलगत्तै तीन महिने पार्टी सुदृढ अभियान चलाउँछौं।’’मधेश प्रदेश माओवादीका लागि उर्वरभूमि भएको बताउँदै अध्यक्ष प्रचण्डले मधेश कम्युनिस्ट आन्दोलनको स्थापनादेखि अहिलेसम्म अग्रमनको पक्ष रहँदै आएको र नेपालकै लागि एउटा राम्रो सन्देश दिँदै आएको बताउनुभयो। मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, अभियानका जिल्ला संयोजक र जिल्ला अध्यक्षसहित एक हजारभन्दा बढी नेताको सहभागीता रहेको थियो।