- प्रा.पवन कुमार साह
हिन्दीमा एउटा उखान छ देर आए लेकिन दुरुस्त आए । अर्थात सत्य परेशान हुन सक्छ तर अन्त्यमा सत्यको नै जित हुन्छ । आरती साहको हत्या प्रकरणको सम्बन्धमा उनको परिवारहरुले देखाएको शान्तिपूर्ण आन्दोलन र माँगलाई ध्यान दिदै सम्माननीय सर्वाेच्च अदालतले आरती साहको आरोपित पति मोतिबाबु साहलाई हिरासतमा राख्न आदेश दिएको छ । यो निर्णयसँगै आरती साहको परिवार लगायत उनका समर्थकहरुको मुहारमा आँशिक खुशी देखिएको थियो । तर अहिले पनि उनको परिवारको शान्तिपूर्ण आन्दोलन जारी छ ।
आरती साहको हत्या प्रकरणको सम्बन्धमा कानुनी उपचार को लागि अनुरोध समयमै उनका परिवारबाट गरिए पनि ढीलो गरी निर्णय आएको छ । यो निर्णय आउन भन्दा पूर्व उनको परिवारले सहेको पिडा तथा दुःखले सम्पूर्ण नेपालीलाई हामी जहाँ भए पनि दुखित बनाएको थियो । हामी बोल्न नसके पनि,हामी उनीहरुलाई केहि सहयोग गर्न नसके पनि उनीहरुको बलिदानको सामु नेपालको कानुन तथा सत्यले मुख मार्न सकेन । आमरण अनसन जस्तो कठोर निर्णय शायद नै कुनै परिवारले अहिलेसम्म लिएको होला र आफ्नो जिवन छँदा नै न्यायको शंकेत पाएको होला । आरती साहको परिवारको भिष्म प्रतिज्ञा जस्तो कठोर प्रण र आत्मविश्वासले नै अहिले यिनीहरुले असत्यलाई घँुडा टेक्न लगाएको छ । वास्तवमा असत्य, अपराध,झुठ र बेइमानीको आयु एकदमै सानो हुन्छ । हामी मानव जाति पनि कति निष्ठुरी भइदिन्छौं र आफ्नै घर परिवारको सदस्यलाई सानो निहुँ वा दहेज लगायतको लालचमा अपराधी बन्न तयार हुन्छौं । हामीलाई थाहा हुन्छ की हामी गलत छौं र यसको प्रतिफल पनि ज्यादै नै डरलाग्दो हुन्छ,तैपनि हामी गलत काम गर्न बाट रुक्दैनौं । आखिर हामी कहिले सम्म अपराधलाई बढावा दिने त ? त्यसकारण ढीलो भए पनि सत्यको जित र असत्यको नराम्रो हार हुने भएकोले अपराधी नबनौं । आशा छ उनको अन्य अपराधीहरु छिट्टै नै समातिने छ ।