
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ मंसिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।तनहुँमा आज व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो । प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए । त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो । व्यास नगरपालिकाले उक्त पुल आज दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवाद भएको थियो । पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो । पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले उनलाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो । साँझ जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई रिहा गरेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालयले भने नेता पौडेलको सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको दाबी गरेको थियो ।