जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ मंसिर
जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा जारी टी—२० क्रीकेट टुर्नामेण्ट अन्तर्गत भएको दुई खेलमा सिरहा क्रिकेट एकेडमी र युथ ११ क्रिकेट टीम विजयी भएको छ ।
बुधबार भएको पहिलो खेलमा युथ ११ ले जनकपुर क्रिकेट एकेडमीलाई २० रनले पराजित गरेको छ । युथ ११ ले दिएको १ सय ३६ रनको जवाफमा जनकपुर मात्रै १ सय १५ रन बनाउन सकेको थियो ।
जनकपुरका लागि हिमांशु दत्तले ४१ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । शोभाकान्त पाण्डेले १८ रनको योगदान गरे । युथ ११को बलिंगमा राजेश सिंहले २ विकेट लिएका थिए । यस अघि ब्याटिंग गरेको युथ ११ सोनु शर्मा र प्रकाश यादवको २९÷२९ रन र सरोज आनन्दको १७ रनको सहयोगमा १ सय ३५ रनको स्कोर खडा गरेको थियो । जनकपुरको बलिंगमा हरिशंकर साहले ४ र रोहन यादवले २ विकेट लिएका थिए । यस्तै दोश्रो खेलमा सिरहा क्रिकेट एकेडमीले जलेश्वर क्रिकेट टिमलाई ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । सिरहाले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जलेश्वर निर्धारित २० ओभरमा मात्र ६५ रनमा समेटिएको थियो ।जलेश्वरका लागि अविनाश अधिकारी १४, अरुण मण्डल र सुनिल कापरले १२÷१२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्समैन दोहोरा अंकको स्कोर समेत बनाउन सकेनन् । जलेश्वरलाई सस्तैमा समेट्नका सिरहा टिमका लागि नन्दन यादवले घातक बलिंग गर्दै ४ विकेट चट्काएका थिए । मनोज यादव र दिलीप यादवले २÷२ विकेट लिए । यस अघि ब्याटिंग गरेको सिरहाले दुरगेश थापाको ४४ र अशोक यादवको ४० रनको सहयोगमा निर्धारित २० ओभरममा १ सय ४१ रनको स्कोर खडा गरेको थियो ।जलेश्वरको तर्फबाट राहुल प्रताप सिंह र अरुण ठाकुरले २÷२ विकेट लिएका थिए ।