कालोबजारीलाई नियन्त्रण गर – Jaleshwortoday

कालोबजारीलाई नियन्त्रण गर

 २५ मंसिर २०८०, सोमबार ००:३७  
Untitled

  • प्रा.पवन कुमार साह

कालोबजारी अहिले नियन्त्रण भन्दा बाहिर गएको सर्वसाधारणले समेत बुझ्न थालेको छ । आर्थिक मन्दीको बखत कालोबजारीले आमजनताको दुखलाई घटाउनुको सट्टा बढाएको छ । अहिले आलु,प्याजदेखि लिएर अन्य खाद्य सामाग्रीहरु र विभिन्न उपभोग्य सामानहरुको मुल्यमा बृद्धिको मुख्य कारण कालोबजारी नै हो । कालोबजारी सबै ठाउँमा प्रश्रय लिएको छ । नेपालमा कालोबजारी र मुल्य बृद्धिको बिरोध भएको विरलै पाइन्छ । यहाँ नेपाल सरकारको मुल्य मापदण्ड भए पनि ठाउँ पिच्छे फरक—फरक मुल्य रहेको पाइन्छ । बजार अनुगमन र दण्डसजायको कमीको कारण कालोबजारी फ्रस्टाएको विज्ञहरुको सल्लाह रहेको छ । भारतमा कुनै पनि सामानको मुल्य बृद्धिको खबर सुन्नासाथ नेपालमा व्यवसायीहरु सो बस्तु लुकाउने गरेको पाइएको छ । कृत्रिम रुपमा सो बस्तुको अभाव सृजना गरी सो बस्तुको मुल्यमा बृद्धि गर्ने गरेको पाइएको छ । यसले गर्दा व्यवसायीहरु मोटो रकम कमाउँछन् भने सेवाग्राही आर्थिक शोषणको शिकार बन्न पुग्दछ । यसको प्रभाव समग्र देशमा पनि पर्न जान्छ । त्यसकारण कालोबजारीलाई हटाउन तथा नियन्त्रण गर्न गराउनको लागि सम्बन्धीत सरोकारबालाहरुले समेत समय—समयमा अनुगमन गर्नु पर्दछ । अहिले हरेक बजारमा यस्तो परिवेश देखिन्छ । यसको नजिकबाट रेखदेख हुनुपर्दछ । साथै सामान्य व्यवसायीहरु तथा आमजनताले समेत यस्तो कालोबजारीको डटेर विरोध गर्न सक्नु पर्दछ ताकि यस्तो कालोबजारीहरु समयमै सुध्रेर व्यवसायलाई व्यवसाय जस्तो मान्न थालोस् । यसको लागि नेपाल सरकारले पनि कालोबजारी सम्बन्धी बनाएको कानुन लाई गंभीर रुपमा लागु गर्न गराउन सक्नुपर्दछ । नेपाल सरकारको विभिन्न निकायहरुलाई सक्रिय गर्न गराउन आवश्यक रहेको देखिन्छ ।