- प्रा.पवन कुमार साह
सुन तस्करी नियन्त्रण नहुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन वटा निकायको बिचमा समन्वयको अभाव देखिन्छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय, विमानस्थल सुरक्षा कार्यालय र अध्यागमनको बिचमा समन्वय नहुँदा सुन तस्करी मौलाइरहेको लाग्दछ । सामान्य आर्थिक अवस्था भएका चन्द्र घलेहरू लगातार दुबई र हङकङ आउजाउ गरेको तथ्याङ्क विमानस्थल अध्यागमन कार्यालयसँग हुन्छ । तर, सो सुराक अध्यागमनले प्रहरी र भन्सारलाई नदिँदा निगरानीमा समस्या हुने गरेको छ । ‘सुराक र शंका लागेपछि म्यानुअल्ली पक्राउ गर्ने परिपाटीले गर्दा तस्करी नियन्त्रणमा समस्या देखिन्छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्ष जनशक्ति नहुँदा र त्यहाँ सक्रिय युनिटहरूको बिचमा कोअर्डिनेशन नहुँदा विमानस्थलबाट सुन तस्करी नरोकिएको जानकारहरू बताउँछन् । ‘अध्यागमन, प्रहरी र भन्सार तीनतिर छन्, हप्ता दिनको अन्तरमा कुनै व्यक्ति दुबई आउजाउ गर्छ भने अध्यागमनलाई थाहा हुन्छ तर, भन्सारलाई थाहा हुँदैन । अध्यागमनले त्यस्तो कुरा भन्सारलाई भन्दैन ।’ शंकास्पदहरुको विवरण अध्यागमनले नदिँदा निगरानीमा समस्या रहेको छ । ‘इन्टेलिजेन्स कमजोर छ, अहिलेसम्म विमानस्थलको इन्टेलिजेन्सले विकास गरेको सुराकबाट सुन पक्राउ गरेको छैन ।’ प्रहरीको इन्टेलिजेन्स युनिट केही सक्रिय भए पनि राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रले कुनै सूचना संकलन गर्न नसक्दा सुन तस्करी घटेको छैन । यस्तै परिपाटी रहयो भने विमानस्थलबाट सुन तस्करी आगामी दिनमा रोकिदैन । ‘तस्करले अहिलेकै जस्तो राजनीतिक संरक्षण पाएसम्म तस्करी रोकिने अवस्था रहँदैन ।’ त्यसकारण राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन, भन्सार र प्रहरीले संयुक्त टिम बनाएर विमानस्थलबाट सुन तस्करी विरुद्ध ‘इन्टेलिजेन्स’ विकास गर्न सक्नुपर्दछ ।