राष्ट्रिय सभामा मधेसवादी दल – Jaleshwortoday

राष्ट्रिय सभामा मधेसवादी दल

 २६ मंसिर २०८०, मंगलवार २३:५२  
Untitled

  • प्रा.पवन कुमार साह

मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि राष्ट्रिय सभा चुनावको तयारीमा जुटेका छन् । अगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा मधेस प्रदेशका दुई सिटका लागि समेत मतदान हुँदैछ । मधेसबाट एउटा जसपा र अर्को कांग्रेसको सिट खाली हुँदैछ । यी दुई सिटमा मधेसवादी दलले दाबी गरिरहेका छन् । अर्कोतिर नेकपा माओवादी केन्द्र र कांग्रेसले पनि ती सिटमा दाबी गरेका छन् । तर सत्ता गठबन्धनमा भएको प्रारम्भिक छलफल अनुसार मधेस प्रदेशका रिक्त दुई सिटमध्ये एउटामा जसपा र अर्को कांग्रेसले लिने लगभग तय भइसकेको छ । तर त्यसमा लोसपा र जनमत पार्टीले पनि दाबी गरिरहेका छन् । लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलको अनुसार राष्ट्रिय सभामा कम्तीमा एक सिटको दाबी रहे पनि सत्ता गठबन्धनकै साथमा रहने र त्यहाँ हुने भागबण्डामा कम्तीमा एउटा सिटका लागि दाबी गर्ने छन् । मधेस प्रदेशमा दुई वटा सिट खाली हुँदैछ, त्यसमध्ये एउटामा लोसपाले दाबी गरेको छ भने राष्ट्रिय सभाको चुनावमा गठबन्धनकै साथमा रहने छन् । गठबन्धनमा रहेका कारण अन्य दलसँग तालमेल हुने सम्भावना निकै कम रहेको छ । त्यस्तै जनमत पार्टीले हालसम्म राष्ट्रिय सभाको चुनावबारे आधिकारिक धारणा बाहिर ल्याएको छैन । गठबन्धनको भागबण्डामा एउटा सिटमा जनमतको पनि रहने दावी छ । जसपा राष्ट्रिय सभाको चुनावमा दुई सिटमा दाबी गर्ने बुझिएको छ । मधेस प्रदेशमा १०७ प्रदेश सांसदको पाँच हजार ६७१ मतभार र स्थानीय तहका २७२ जनप्रतिनिधिको पाँच हजार १६८ गरी १० हजार ८३९ मतभार छ । मधेस प्रदेशमा एमालेका कुल दुई हजार ३०२ मतभार, कांग्रेसको तीन हजार १०४, जसपाको एक हजार ८१७, जनमत पार्टीको ७४६, लोसपाको ९३३, माओवादी केन्द्रको ७६६, नेकपा (एस)को ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३७५ मतभार छ । त्यसमध्ये मधेसमा गठबन्धनको मतभार सात हजार ९९९ छ । कोशी प्रदेशमा सत्ता गठबन्धनको मतभार पाँच हजार ४७४ छ । त्यहाँ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपाबिच गठबन्धन छ । त्यहाँ राष्ट्रिय सभा निर्वाचनका लागि लोसपा र जनमतको मत छैन । कोशीमा मधेस केन्द्रित दल जसपाको १२९ मतभार छ । बागमती प्रदेशमा गठबन्धन दलको ६ हजार ७५१ मतभार छ । त्यहाँ राष्ट्रिय सभा निर्वाचनका लागि जसपा, लोसपा र जनमतको मत छैन । गण्डकीमा गठबन्धन दलको मतभार तीन हजार ७७४ छ । यो प्रदेशमा पनि जसपा, लोसपा र जनमतको मत छैन । लुम्बिनी प्रदेशमा गठबन्धन दलको मतभार पाँच हजार ४७७ छ । त्यहाँ जसपाको २७३, लोसपाको २३५, जनमत पार्टीको १५९ मतभार छ । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको मतभार तीन हजार ७०७ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५१० छ । यी दुवै प्रदेशमा जसपा, लोसपा र जनमतको मत छैन ।