सरकारलाई दिएको समर्थन यथावत् छः अध्यक्ष ठाकुर – Jaleshwortoday

सरकारलाई दिएको समर्थन यथावत् छः अध्यक्ष ठाकुर

 ३० मंसिर २०८०, शनिबार २३:२३  
11

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० मंसिर

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्रबाटै दबाब बढिरहँदा पार्टी अध्यक्ष महन्थ ठाकुरले संघीय सरकार एवम् प्रादेशिक सरकारहरुलाई लोसपा नेपालले दिएको समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।
थमन विक हत्या प्रकरणमा लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि ठाकुरमाथि सरकारको समर्थन फिर्ता लिनुपर्ने दबाब बढेको थियो । अभिराम शर्मालाई जन्मकैदपछि लोसपामाथि सरकार छाड्ने दबाब
अभिराम शर्मालाई जन्मकैदपछि लोसपामाथि सरकार छाड्ने दबाब
यस सन्दर्भमा केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण सूचना आएको बताउँदै अध्यक्ष ठाकुरले लोसपा नेपाल सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण पक्षको रुपमा रहेको स्पष्ट पारेका हुन् । शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका र न्यायपालिका अलग–अलग दूई स्वतन्त्र अस्तित्वमा रहेको हुनाले एकले अर्कालाई प्रभावित गर्न सक्दैन भन्ने मान्यतालाई लोसपा नेपालले आत्मसात गर्दै आएको उनको भनाई छ । नेपाली जनताको बर्षौं देखिको अनवरत संघर्ष र हजारौंको वलिदानीको परिणाम स्वरुप प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाश तथा प्राप्त उपलब्धिहरुको रक्षा गर्न सत्तारुढ गठबन्धन भित्रको पार्टीहरु बिचको सम्बन्ध थप मजबुत गर्दै देश भित्र रहेका वर्तमान चुनौतिहरुको सामना गर्नको लागि संघिय सरकार एवम् प्रादेशिक सरकारहरु प्रभावकारि रुपमा कार्य सम्पादन गर्नु पर्ने लोसपा नेपालको ठहर रहेको छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
। यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका थिए । नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको आग्रह थियो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षको कार्यक्रम घोषणा गर्न नेता महतोको आग्रह
लोसपाका अध्यक्ष ठाकुरले पनि शुक्रबार प्रेस विज्ञप्ति जारी गरी महोत्तरी जिल्ला अदालतले अभिराम शर्माविरुद्ध गरेको जन्म कैदको फैसलाप्रति असहमति जनाएका थिए । उनले भने, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा हो । न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति रहेको छ ।’ राजनीतिक अधिकार प्राप्तिको सङ्घर्षमा जनता सडकमा उत्रेको बेला कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो ।

तर तथ्य एवं वास्तविकता भन्दा विल्कुलै फरक ढङ्गले निर्दोष व्यक्तिहरूलाई समेत राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएको भनी उनले विज्ञप्तिमा उल्लेख गरेका थिए ।