अदालतको आदेशविरुद्ध लोसपाको विरोध प्रदर्शन, निर्णय उल्ट्याउन माग – Jaleshwortoday

अदालतको आदेशविरुद्ध लोसपाको विरोध प्रदर्शन, निर्णय उल्ट्याउन माग

 १ पुष २०८०, आईतवार १७:१७  
kk

गणेश कुमार सिंह
महोत्तरी, ३० मंसिर

२०७२ सालको मधेश आन्दोलनको क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्या अभियोगमा लोसपाका महासचिव तथा पुर्व राज्यमन्त्री एवं संसदीय दलका नेता अभिराम शर्मासहितका ७ जनालाई अदालतले दिएको जन्मकैदको सजाय मधेशीको विरुद्ध अदालतको अन्यायपुर्ण फैसला भएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै सो फैसला उल्ट्याउन माग गरिएको छ ।

जलेश्वरमा शुक्रबार विरोध र्‍यालीपश्चातको कोणसभामा बोल्दै लोसपा नेताहरुले सो माग गरेका हुन । उनीहरुले राजनीतिक मुद्दालाई मधेशबाट मधेशी दललाई समाप्त पार्न सरकारको सुनियोजित योजना अनुसार अदालतको सो फैसला आएको उनीहरुले आरोप लगाए ।

कोणसभामा बोल्दै लोसपाका केन्द्रीय उपाध्यक्ष रानी शर्मा तिवारीले केन्द्रमै समेत शीर्ष नेताहरुको बैठक चलिरहेको बताउदै मधेशमा आजबाट आन्दोलनको बिगुल फुकिसकेको बताइन्। उनले जन्मकैद सुनाइएका सवै सातजना मधेशी नेता मधेशको हिरो भएको बताउँदै  हरेक घरमा अभिराम शर्मा,सुरेश पाण्डेय र शंकर शाहीजस्ता नेताले जन्म लिने बताइन् ।

उनले अदालतको फैसला नसच्याइए मधेशमा ठुलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै ब्यहोर्नु पर्ने बताइन् । केन्द्रीय  महासचिव तथा पुर्व सांसद परमेश्वर साहले अदालतको अन्यायपुर्ण फैसलाको मधेशमा विरोध हुनेमा दुईमत नभएको बताए । उनले आन्दोलनको समयमा भएको मृत्युलाई अदालतले हत्याभन्दा सोहि आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीहरुको हत्याको इन्साफसमेत हुनुपर्ने बताए । उनले सम्पुर्णलाई आन्दोलनमा सघाउनसमेत आह्वान गरेका छन् ।