जनकपुरधाममा भगवान रामजानकी स्वयम्बर समपन्न – Jaleshwortoday

जनकपुरधाममा भगवान रामजानकी स्वयम्बर समपन्न

 १ पुष २०८०, आईतवार २३:४०  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, १ पौंष

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ । जानकी मन्दिर तथा राम मन्दिरको डोला बाह््रविघा रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो ।
विवाहपञ्चमी महोत्वको मुख्य आकर्षणको रुपमा रहेको स्वयम्बर विधिमा लाखौंको सहभागिता रहेको थियो । भगवान् राम र सीताको स्वरुपमा जानकी मन्दिर तथा राम मन्दिरको डोला बीच रंगभूमि मैदानमा स्वयम्बर गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव जानकी मन्दिरको डोला बोक्न रंगभूमि मैदान पुग्नु भएको थियो ।
पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकी सहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा मैदान पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रबिघा मैदानमा लगिने चलन छ । सोहि अनुसार जानकी मन्दिरबाट माता सीताको डोलाको नेतृत्व गर्दै महन्त रामतपेश्वर दास सहित माइती पक्ष र राम मन्दिरबाट रामको डोलाको नेतृत्व गर्दै महन्त राम गिरि सहित लाखौं श्रद्धालुहरु रंगभूमि मैदानमा पुग्नु भएको थियो । रंगभूमि मैदानमा अन्य मन्दिरका डोलाहरूसँगै राम र सीताको डोलालाई परिक्रमा गराई स्वयम्बर गरिएको हो । जनकपुरको मठमन्दिरबाट सुसज्जित झाँकी सहितको डोला स्वयम्बरपछि नगर परिक्रमा गरेको थियो । स्वयम्बरका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट रंगभूमि तथा जानकी मन्दिरमा पुष्पवर्षा गरिएको थियो । स्वयम्बर सम्पन्न भएपछि डोलाहरु मन्दिर फर्किएका छन् । आजै राती जानकी मन्दिर परिसरमा बनाइएको भव्य मण्डपमा मिथिलाको परम्परा अनुसार वैवाहिक कार्यक्रम हुनेछ। वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भुमिका निर्वाह गर्नेछन् । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलहीझैँ श्रृङ्गारिएको छ । त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता रामको विवाह महोत्सव मनाउँदै आएका छन् । विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेतायुगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।