जलेश्वरटुडे समाचारदाता
धनुषा, २ पौष
जनकपुरधाम स्थित जानकी मन्दिरमा सोमवार राती २१ जोडीको सामूहिक विवाह गरिएको छ ।
विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २१ जोडीको विवाह गराइएको छ ।
सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।
जनकपुरधाममा आयोजना गरेको निशुल्क सामुहिक विवाहमा अनाजवाट रामजानकीको स्वयंवरको प्रतिमा बनाउन भारतको मध्य प्रदेशवाट जनकपुरधाम आएका कलाकार सतिश गुर्जरले पनि यागिनी गुर्जर संग स्वयंवर गरेका छन् ।सतिश संगै स्वयंवर रचाएकी उनको जोडी यागिनी गुर्जर भारत मध्य प्रदेश उनको गाँउ हार्जा कै हुन र उनीसंगै टिममा आएकी थिईन् ।
कलाकार गुर्जरले आफनो स्वयंवर जनकपुरधाममा हुने अवसर जुडेकोमा भाग्यशाली महशुस भइरहेको बताए । उनले भने, ‘भगवान रामजानकीको स्वयंवरको प्रतिमा बनाउन आएको थिए पवित्र यस धर्तीमा आफनो स्वयंवर समेत भयो, यो भगवानकै ईच्छा थियो भन्ने लागेको छ ।’ उनले स्वयंवर जनकपुरधाममा गरेको र गाँउ पुगेर विवाह धुमधामका साथ गर्ने बताए ।
परिषद् अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधामको कलवार धर्मशालामा सवै जोडी सहित उनका परिवारजन जम्मा भएर खानपीन गर्दै वेहुलालाई रथमा बाजागाँजा सहित नगर परिक्रमा गराइएको छ । साथै सो समयमा बेहुली सबैलाई रितु ब्युटी पार्लरमा तयार गरि साँझ जानकी मन्दिरको प्राङ्गणमा जहाँ हिजो रामजानकीको विवाह भएको थियो सोहि विवाह मण्डपमा सामुहिक स्वयंवर गरिएको छ ।
विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य वैवाहिक सरसमान र भोज सहितका आवश्यक पर्ने सबै सामाग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ । विवाहलाई कम खर्चिलो तथा ऐतिहाँसिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गर्ने काम भएको परिषद् अध्यक्ष साहले बताए ।
विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।विवाह समारोहमा प्रतिनिधि सभा सदस्य जुलस् माहासेठ, जानकी मन्दिरका छोटा महन्थ राम रोशन दास बैष्णव लगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।
विश्व हिन्दु परिषद् नेपालले विगत पाँच वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलीपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ ।विवाह गर्न चाहने बेहुला बेहुलीको उमेर पुगेको हुनु पर्ने भएकाले उमेर खुलेको नागरिकता सहितको आवश्यक कागजपत्र पहिला बुझाउनु पर्ने प्रावधान रहेको परिषदको भनाई छ ।