प्रधानमन्त्रीले अबको समय सदुपयोग गर्न जरुरी – Jaleshwortoday

प्रधानमन्त्रीले अबको समय सदुपयोग गर्न जरुरी

 ११ पुष २०८०, बुधबार २३:५३  
Untitled

  • प्रा.पवन कुमार साह

प्रधानमन्त्री पुष्पकमल दाहालले अबको बाँकी समय सदुपयोग गर्न जरुरी रहेको देखिन्छ । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । जनताले प्रत्यक्ष अनुभूत गर्ने खालको काम सरकारले एक वर्षमा गर्न सकेन । प्रचण्ड स्वयंले स्वीकार गरेका छन् भने अनुसारको परिणाम आएन । शपथको दिनदेखि नै तेस्रो कार्यकालमा केही नयाँ काम गर्ने उनले बताउँदै आएका थिए । प्रचण्डले पहिलो वर्ष प्रभावकारी नभएको निष्कर्षसहित कार्यशैली परिवर्तन गर्ने बताएका छन् । अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताएका छन् । दिनमै तीन वटा कार्यक्रममा गएर समय खर्च गरेको आरोप उनी माथि लाग्ने गरेको थियो । राजनीतिक नेतृत्वको कार्यशैली अनुसार कर्मचारीतन्त्रले काम नगरेको सरकारका मन्त्रीहरूले गुनासो गर्दै आएका छन् । प्रचण्डले सिंगो राज्य संयन्त्रलाई सन्देश दिनेगरी प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्ने बताएका छन् । एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री बने पनि अहिले प्रचण्डले कांग्रेससँग सत्ता साझेदारी गरिरहेका छन् । गठबन्धन सरकार रहे पनि राजनीतिक स्थायित्वमा कुनै प्रश्न नरहेको र सरकार तानातानमा नरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो हो भने सरकारले किन जनअपेक्षा अनुसार काम गर्न सकेको छैन ? प्रचण्डले जवाफ दिन सकेका छैनन् । प्रचण्डले कामको जति व्याख्या बयान गरे पनि सर्वसाधारणले सरकारप्रति विश्वास गरिरहेका छैनन् । सरकारी अस्पतालको दुरावस्था र निजी अस्पतालमा पहुँच नभएका आमनागरिक तड्पिरहेका छन् । उपचार सुलभ गराउने कुरामा सरकारले एउटै काम गरेन, जुन नागरिकले प्रत्यक्ष अनुभूत गर्ने विषय हो । यति मात्र होइन अहिले देशभरी नै आर्थिकमन्दी कारण जनता अक न बक भएका छन् जसको सहि उपचार प्रधानमन्त्री दाहालको अर्थमन्त्रालयदेखि अरु कुनै पनि मन्त्रालयले दिन सकेका छैनन् । त्यसमा पनि संघीय मन्त्रीहरुलाई दिइएको जिम्मेबारी समेत समयमा पुरा गर्न नसकी प्रधानमन्त्रीलाई नै असफल गराउने परिवेश सृजना भएको छ । सरकारले बनाएका केहि ऐन र कानुनका कारण पनि यो सरकार आफैले बुनेको जालोमा फसेको देखिन्छ जसबाट सरकारको दुरदर्शितामा कमी रहेको प्रष्ट बुझन सकिन्छ । अहिले नयाँ मन्त्रीहरु चयन गर्नु भन्दा पुरानैहरुमा देशभक्तिको भाव भर्न जरुरी छ । सम्बोधन मार्फत प्रचण्डले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा प्रचण्डले पहिलो एक वर्ष उपलब्धिमूलक नभएको स्वीकारेका छन् । दोस्रो वर्षको जति समय उनी सरकारमा बस्छन्, त्यसलाई उपलब्धिमूलक बनाउन जरुरी छ । थोरै समयमा मुख्य—मुख्य कामहरु गरेर पनि देशको पुर्नउत्थान गर्न सकिन्छ ।