जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ पौष
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेपछि गुहमन्त्री नारायणकाजी श्रेष्ठले आफै पुगेर सबैलाई छुटाएका छन् ।
उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेका थिए । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका थिए । तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् । ‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनु भयो,’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले भने ।
अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।
प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।