पर्सामा ४२ केजी गाँजासहित दुई जना पक्राउ – Jaleshwortoday

पर्सामा ४२ केजी गाँजासहित दुई जना पक्राउ

 २३ पुष २०८०, सोमबार ००:३९  
11

जलेश्वरटुडे समाचारदाता
बारा, २२ पौष

पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पिकअप गाडीमा गाँजा ओसार्दै गरेको अवस्थामा प्रहरीले गाडी चालक मकवानपुरको भिमफेदी गाउँपालिका-९ का ३४ वर्षीय सुमन ब्लोन र पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ का ४० वर्षीय विनोद रामलाई पक्राउ गरेको हो।
पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी महुवनबाट शनिबार राति खटिएको प्रहरी टोलीले गण्डकबाट देउरियातर्फ जाँदै गरेको बा प्र ०३००१च१५४० नम्बरको पिकअप गाडी महुवन चोकमा रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा उक्त गाडीको चालक बस्ने सिटमुनि लुकाएर राखिएको अवस्थामा ४२ पोका अर्थात ४२ केजी गाँजा बरामद भएको शाहले बताए ।गाँजा र गाडीसहित नियन्त्रणमा लिइएका ब्लोन र रामलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।