बैक कर्जा बृद्धिको लागि पहल गर – Jaleshwortoday

बैक कर्जा बृद्धिको लागि पहल गर

 २३ पुष २०८०, सोमबार ००:४१  
Untitled

बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय निक्षेप बढेको छ । गत वर्ष पुस मसान्तसम्म जम्मा ५३ खर्ब ६० अर्ब रुपैयाँ हाराहारी रहेको निक्षेपको आकार यो वर्ष पुसको मध्य (पुस १५) मा नै बढेर ६० खर्ब ६९ अर्बमाथि पुगेको हो । तुलनात्मक रूपमा यो वर्ष १३.२३ प्रतिशतले बैंकहरुको निक्षेप बढेको देखिन्छ । बजारमा व्यावसायिक वातावरण नहुँदा निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार पुस १७ गतेसम्ममा सबै बैंक तथा वित्तीय संस्थाहरू गरी कूल ५० खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । जबकि अघिल्लो वर्षको पुस मसान्तसम्म (बैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको सबै बिलहरू समेत गरी) जम्मा ४८ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको थियो । निक्षेप दोहोरो अङ्कले बढ्दा यो वर्ष ३.८६ प्रतिशतले मात्र कर्जा लगानी वृद्धि भएको हो । निक्षेपको आकार तीव्र गतिमा बढ्दै जाने तर सोही अनुसार यता कर्जा लगानी बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा चुनौती थपिएको छ । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, यता अपेक्षित रूपमा निजी तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढ्न नसक्दा उत्पादन घट्ने प्रायः निश्चित छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २०७९ मा कूल प्रवाहित कर्जा मध्ये ४६ खर्ब ७४ अर्ब १४ करोड रुपैयाँ निजी क्षेत्रमा गएको थियो । तर, यो वर्षको कात्तिक मसान्तसम्म यस्तो कर्जा निजी क्षेत्रमा जम्मा ४२ खर्ब ३३ अर्ब ५७ करोड रुपैयाँ हाराहारी मात्र गएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ । यो भनेको अघिल्लो वर्षको तुलनामा यो वर्ष निजी क्षेत्रतर्फको कर्जा ९.४३ प्रतिशतले घट्न पुगेको हो । यता निक्षेप भने समीक्षा अवधिमा १० खर्ब बढीले बढेको छ । २०८० कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा ३ खर्ब ६४ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माछापालन क्षेत्रमा १५ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले समीक्षा अवधिमा कृषि, वन, पेय पदार्थ तथा फुड प्रोडक्सन (उत्पादन) को क्षेत्रमा अधिकतम ८ खर्ब २७ अर्ब ६९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसकारण बैक कर्जामा सर्वसाधारणको पहँुच बढाउन बैकहरुले विभिन्न किसिमले ग्राहकमैत्री वातावरण बनाउनुपर्छ ।