
- प्रा.पवन कुमार साह
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएका १६ वटा नमूनाको जिनोमी सिक्वेसिन्ङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूना ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान पुष्टि हो । अर्थात कुल संक्रमणमध्ये ४४ प्रतिशत जेएन.वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘कोरोना भाइरसको संक्रमण बढ्दो छ, स्वास्थ्य संस्था तयारी अवस्थामा रहनु ।’ सबभेरियन्ट जेएन.वान पहिचानभएसँगै नेपालमा पनि संक्रमणको फैलिनसक्ने विज्ञले आकलन गरेका छन् । ओमिक्रोनको सबभेरियन्ट बीएफ.सेभेन, बीए.वान् र बीए.टु, बीएम.वान लगायतका अन्य (सबभेरियन्ट) भन्दा जेएन.वान् धेरै गुणा बढी संक्रामक मानिएको छ । तर, कति घातक छ भन्ने अझै यकीन भएको छैन । कुनै भाइरसको उत्पत्तिपछि तिनीहरुको प्रजाति वा उपप्रजाति उत्पत्ति भइरहन्छन् । जुन प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं । भेरियन्ट अफ कन्सर्न हुनका लागि तीनवटा क्याटेगोरी आवश्यक हुन्छ । पहिला, नयाँ भेरियन्ट उत्पत्ति भएका भाइरसभन्दा एकदमै चाँडै वा सजिलो फैलिने हुन्छ । दोस्रो, संक्रमण वा खोपबाट हुने इम्युनिटीले पनि रोक्न सकिंदैन । तेस्रो, पहिला देखिइसकेका कोरोनाभाइरसभन्दा नयाँ भेरियन्टले बढी गम्भीर केसहरू वा मृत्युदर बढाउने हुन्छ । ‘अहिलेसम्म हेर्दा जेएन.वान सब भेरियन्ट चाँडै र सजिलैसँगै फैलिनसक्ने पुष्टि भएको छ । जसले गर्दा धेरै मानिसलाई संक्रमण हुने अनुमान गर्न सकिन्छ,’ डा. अधिकारीले भने, ‘खोप लगाएको पनि एक वर्षभन्दा बढी भएकाले इम्युनिटीको प्रभावकारिता घट्दो क्रममा छ ।’ भेरियन्ट अफ कन्सर्न हुनका लागि दुई वटा क्याटेगोरी मिलेसँगै नेपालमा लहरकै रुपमा आउनसक्ने अनुमान गर्न सकिन्छ । यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याउनुका साथै मृत्युदर पनि बढाएको थियो । तर नयाँ भेरियन्ट जेए.वान फैलिएका देशहरुमा अहिलेसम्म मृत्युदर भने उच्च रहेको पाइएको छैैन । ‘कोरोनाको लक्षण सुरु भएको तीन–चार दिनपछि मात्रै रगतमा एन्टिजेन देखिन्छ । थोरै संख्याले मात्रै बुस्टर डोज लगाएका छन्,’ ‘अब सरकारले बुस्टर डोजमा र नागरिकले मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको देखिन्छ ।