
- प्रा.पवन कुमार साह
मधेस सहित मिथिलाञ्चलमा आज मकरसंक्रान्ति मनाइदैछ । यो पर्व प्रत्येक वर्ष माघ १ गते मनाइने गरिन्छ । यस दिन विशेष रुपमा यस क्षेत्रमा बिहानै जलाशय वा पोखरीमा नुहाउने चलन रहेको छ । त्यसपछि घरको मुल व्यक्ति आमाले नाङलोमा राखिएको चामल,तिल तथा पैसा छुन भन्नुहुन्छ अनि हातमा खक्क्र(मिठा) र तिलको मिश्रण खानलाई दिएर मेरो तिल बहन्छौं भन्नु हुन्छ अनि सन्तानले बहन्छु भन्ने जवाफ पाइसकेपछि मिठो खानेकुराहरुमा खिचडी,दही,मिठा,लडु(तिल,च्युरा, मुरही),तरुल आदि लगायतका सामाग्रीहरु खाने चलन यस क्षेत्रमा रहि आएको छ । यतिमात्र होइन यस दिन भारतको गंगा,सिमरीयाघाँट,नेपालको गेउरुकी,गंगासागर,कमला लगायतको सरोबरमा नुहाउने चलन रहेको छ । खास गरेर तिलले हाम्रो शरीरमा चिसो मौसममा न्यानो राखि छाला सम्बन्धी रोग निको हुन्छ । यस अवसरमा माइति पक्षबाट छोरीहरुलाई तिल, च्युरा,मुरही आदिको लडु कोसेलीको रुपमा पठाउने चलन रहेको छ । यस पर्वले भाइचारा तथा अपनत्व बढाउनुको साथै स्वास्थ्यलाई समेत राम्रो राख्न सहयोग गर्दछ । यस पर्वलाई नेपालमै ठाउँ अनुसार फरक—फरक हिसाबले मनाइने गरिन्छ । भारतमा यो पर्व १४ जनवरीमा प्रत्येक वर्ष मनाइने भएकोले एक दिन अगाडी वा पछाडी वा त्यही दिन मनाइने गरिन्छ । यस दिन दान तथा कोसेली आवश्यकता भएको व्यक्ति वा पुरोहितलाई दिने चलन रहेको छ । यसबाट पुण्य प्राप्त हुने जनविश्वास रहि आएको छ । थारु समुदायमा माघी पर्वको रौनक फरक नै देखिन्छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन् । ‘माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवा लगायतका नाँच थारु गाउँमा सुरु भएका छन् भने ‘गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ ।’ थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने गरिन्छ ।
‘यो पर्वलाई समुदायमा आ–आफ्नै तरिकाले मनाउने गरिएको छ । तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया एक वर्षलाई एउटै हुने भएकाले यसको विशेष महत्त्व रहन्छ’, । सबैलाई जोडने तथा हाम्रो संस्कृतिलाई बचाईराख्ने पर्व माघी वा माघेसंक्रान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।