मधेसी आयोगको अपिल – Jaleshwortoday

मधेसी आयोगको अपिल

 ९ माघ २०८०, मंगलवार ००:४९  
2

पत्रकार तथा अन्नपुर्ण दैनिकका वरिष्ट संवाददाता राजकरण महत्तोलाई भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै गाली गलौच तथा कुटपिट गर्ने सुन्दरीमाई यातायातको गाडी चालक र सह–चालक माथि कडा कारवाही गर्न मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
माघ ७ गते काठमाडौंको तिनकुने स्थित सडक किनारामा यात्री प्रतीक्षालयमा रोकी राखेको सुन्दरीमाइ यातायातको गाडीको चालक तथा सह–चालकले महत्तोलाई मार्सिया, विहारी जस्ता अपमानजनक शब्द प्रयोग गर्दै कुटपिटको प्रयास समेत गरे पछी पत्रकार महत्तोले आयोगमा कारवाहीको लागि उजुरी दिएका थिए । सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले सो गाडीका चालक तथा सह–चालक लाई यथाशिघ्र नियन्त्रणमा लिएर कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता नश्लीय व्यवहारका घटना बारम्बार दोहरिनुले राज्य र अन्य समुदायको मधेशी समुदाय प्रतिको दृष्टिकोण लाई झल्काएको बताएका छन् । आयोगले बारम्बार यस्ता घटनाका दोषीहरुलाई कडा–कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन वा पत्राचार गरे पनि सम्बन्धित निकाय गम्भीर नहुनु दुखद रहेको समेत अध्यक्ष डा.दत्तले बताएका छन् ।
नेपाल चार जात ३६ वर्णको साझा फुलवारी हो । यो फुल वारीमा सबैलाई समान रुपमा बस्न,बोल्न,खान तथा लगाउन अधिकार छ । विश्वका ठूला शक्तिशाली राष्ट्रहरुले विभेदका सामुने शिर निहुराउन बाध्य भएका कैयौ उदाहरणहरु हुँदाहुदै पनि नेपालमा मधेसी समुदाय प्रति यस किसिमको अपमानजनक दुव्र्यवहार हुनु र सम्बन्धीत सरोकारबालाहरुले मौन बस्नु गलत कुरालाई बढाबा दिनु हो । भनिन्छ पृथ्वी गोलो छ अर्थात हामीले आज कसैलाई हेप्छौं भने याद गर्नुस भोलि त्यहि समुदाय तपाईको शासक भयो भने के अवस्था हुन्छ होला ? त्यस कारण अरुलाई सम्मान गरौ र सम्मान पाऔं । यस्ता कुसंस्कार बोकेका तथा समाजको शान्ति प्रक्रिया खलबलाउने जो कोहिलाई पनि नेपाल सरकारले तुरुन्त कारबाही गर्नुपर्दछ । यसमा आनाकानी तथा ढीलाई गर्नु हुदैन । पत्रकार जस्तो देशको चौथो अंगलाई यस किसिमको व्यवहार आफ्नै देशको राजधानीमा भोग्नु पर्दा पक्कै पनि यो सरकारको लाचारीलाई दर्शाउदछ । सरकारले गंभीर हुनै पर्दछ र कारवाही  गर्नुपर्दछ ।