मधेस प्रदेशका घर—घर तथा मठमन्दिरमा गुञ्जियो रामनामको धुन – Jaleshwortoday

मधेस प्रदेशका घर—घर तथा मठमन्दिरमा गुञ्जियो रामनामको धुन

 ९ माघ २०८०, मंगलवार ०१:०१  
5

मधेस प्रदेशका १३६ पालिकाहरुले मनाए प्रभु रामको दीपोत्सव

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ माघ

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको १३६ पालिकाहरुले एक साथ घरघरमा दीपावली गरि खुसीयाली मनाएका छन् । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियालीमा जनकपुरधाममा पनि दीपोत्सव मनाइएको छ । मधेस प्रदेशका घर—घर तथा मठमन्दिरमा रामनामको धुन गुञ्जिएको र सबैजना राममय भएको देखिएको थियो । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाएका छन् । यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरेका हुन् । जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ । राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिका लगायत अन्य जिल्लाका कतिपय पालिकाहरुले सार्वजनिक बिदा समेत दिएको थियो ।सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका थिए । यस अवसरमा महोत्तरीको जलेश्वर नगरपालिकाले जलेश्वरनाथ मन्दिर लगायत पोखरी तलाउँ समेत दीप तथा झिलीमिली बत्तिले सजाएका थिए । सोही अवसरमा शिव आरती र झाँकी किर्तनको समेत आयोजना गरिएको नगर प्रमुख सुरेश साह सोनारले जानकारी गराउनुभयो ।