अबधमा विधिपूर्वक प्रभु रामललाको प्राण प्रतिष्ठा गरियो – Jaleshwortoday

अबधमा विधिपूर्वक प्रभु रामललाको प्राण प्रतिष्ठा गरियो

 ९ माघ २०८०, मंगलवार ०१:१०  
6

मोदीका पाँच मन्त्रदेखि छिमेकी पाकिस्तान भए रुष्ठ

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ माघ

भारतको अवध अर्थात अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । भारतीय जनता पार्टी नेतृत्वको सरकारले आगामी लोकसभा चुनावसमेतलाई लक्षित गर्दै निर्धारित समयभन्दा ११ महिना छिटो आयोजना गरेको विशाल समारोह बारे यति बेला भारतभित्र र बाहिर विभिन्न कोण–प्रतिकोणबाट चर्चा भइरहेको छ । सुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा सोमबार राममन्दिर प्राण प्रतिष्ठाक्रममा बोलेका टिप्पणीबाट चर्चा थालौं । उनले अयोध्यामा मुलतः पाँचवटा विषय उठाए । उनले देव से देश, राम से राष्ट्र नाराले भारतलाई विजयतर्फ उन्मुख गराएको बताए । उनले विजयसँगै विनयको भाव पनि जागृत हुनुपर्नेमा जोड दिए । उनका मूख्य भाषण अंशलाई पाँचवटा बुँदामा पढौं ः
एक– दासताको मानसिकता अन्त्य भयो ः भारत स्वतन्त्र भएको लामो समय भइसके पनि कतिपयमा दासताको भावना अझै थियो । आज राम मन्दिरको प्राणप्रतिष्ठासँगै दासताको मानसिकता अन्त्य भएको छ । भगवान रामको प्राण प्रतिष्ठालाई पुनस्थापना गर्न पाउँदाको आजको मितिलाई हजार वर्षपछि पनि मानिसहरुले याद गरिराख्नेछन् ।
दुई –अदालतलाई धन्यवाद ः भारतको संविधानको पहिलो प्रतिमै राम उपस्थित छन् । दशकसम्म चलेको अदालतको बहसमा पनि रामको उपस्थिति याद गरियो । अदालतलाई धन्यवाद, जसले न्यायकै पर्यायस्वरुप रामलाई स्थापित गराउन योगदान दियो ।
तीन –मन्दिर निर्माणका विरोधीलाई सन्देश ः धेरैले राममन्दिर पुनर्स्थापित भयो भने त्यसले द्वेषको बीजारोपण गराउनेछ भनी बोल्दै आएका थिए । उनीहरुले भारतीय समाजको भावना बुझ्न असमर्थ छु भन्ने बुझाए । यो मन्दिर शान्ति, भाइचारा, सद्भाव, धैर्य, सहिष्णुता सबैको प्रतिविम्ब हो ।
चार –राष्ट्रिय चेतनाको मन्दिर ः राम मन्दिर भारतको राष्ट्रिय चेतनाको विम्ब बनेर रहनेछ । राम भारतका चेतनामात्रै होइनन्, विश्वास पनि हुन् । राम भारतका विचार, उत्प्रेरणा, स्थिरता, गहिराई, कानुन, स्थायित्व सबै हुन् ।
पाँच –राष्ट्र निर्माणमा युवा ः भारतको हजारौं वर्ष पुरानो परम्परा, विश्वासलाई जगाइराख्ने जिम्मा अब युवाहरुको काँधमा आएको छ । तपाईंहरुले भारतको नयाँ पुस्तालाई नयाँ सोचका साथ प्रतिनिधित्व गर्नुहुन्छ । परम्परा र सम्पदाको संरक्षणसँगै सूर्यको नजिकसम्म जाने वैज्ञानिक परीक्षणहरु भारतले गराउँदैछ, जसमा तपाईंहरुको साथ र विश्वास चाहिन्छ । भारतीय प्रधानमन्त्री मोदीले गौरवका रुपमा चित्रित गरको प्राण प्रतिष्ठालाई प्रतिपक्षी कांग्रेस लगायतले विरोध जनाएका छन् । धार्मिक आध्यात्मिक महत्वको समारोहलाई राजनीतिकरण गरिएको भन्दै उनीहरुले आपत्ति पनि जनाए । भारतसँग लामो समयदेखि शत्रुवत सम्बन्धमा रहेको छिमेकी पाकिस्तानले सोमबार वक्तव्य निकालेर प्राण प्रतिष्ठा आयोजनाको विरोध गरेको छ ।पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य निकाल्दै भनेको छ, ‘भारतमा बढ्दै गएको बहुमतवादको असर अयोध्याको समारोहमा पनि परेको छ । भत्काइएको इस्लामिक आस्थाकेन्द्र बाबरी मस्जिदका ठाउँमा मन्दिर बनाएको घटनामा भारतको अदालतले समेत दुर्भाग्यपूर्ण काम गरेको छ । उसले मस्जिद भत्काउनेहरुमाथि न्यायिक कारबाही गरेन, उल्टै मन्दिर बनाउन आदेश दियो ।’ पाकिस्तानले भारतमा बढ्दो हिन्दुत्वले क्षेत्रीय सुरक्षामै खतरा पैदा गरिदिएको आरोप समेत लगाएको छ । उसले भारतका अल्पसंख्यकहरुको साँस्कृतिक अधिकारमाथि समेत खलल पैदा भएको टिप्पणी गरेको छ ।