असह्य चिसोबाट बचौं र बचाऔं – Jaleshwortoday

असह्य चिसोबाट बचौं र बचाऔं

 ११ माघ २०८०, बिहीबार ०१:२५  
Untitled

  • प्रा.पवन कुमार साह

हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । ‘यो प्रणालीको प्रभाव आज, भोलि र पर्सि तीन दिनसम्म रहने छ । यसले गर्दा उच्च पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ । तराई मधेशमा अहिले बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ । हुस्सु कुहिरोको कारण पारदर्शिता कम भएकाले गाडीहरु बत्ती बालेर हिँडिरहेका छन् । उडानहरु पनि प्रभावित भएका छन् । हुस्सु कुहिरो आज दिउँसोसम्मै लाग्ने सम्भावना छ । दिउँसो १२–१ बजेसम्मै हुस्सु कुहिरो लाग्ने गरेकाले जाडो बढेको महसुस पनि भएको छ । तर विगतमा जस्तो लामो समयसम्म शीतलहरको अवस्था भने अहिले नरहेको मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले यो वर्ष शीतलहर सुरु भएको घोषणा अहिलेसम्म गरिएको छैन । माघ महिना अझै बाँकी छ । त्यसैले जाडो अझै केही दिन कायम रहने सम्भावना छ । यो जाडोको अवधिमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरु प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जरुरी देखिन्छ । जाडोमा हुस्सु कुहिरो लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने भएकाले शरीरलाई न्यानो बनाइराख्नु पर्ने आवश्यक छ । शीतलहरमा प्रदूषित हावा, धुलाका साना कणहरु पनि रहने हुनाले यसले श्वासप्रश्वास प्रणालीमा मात्र नभई शरीरका अन्य विभिन्न अंगहरुमा पनि समस्या पार्न सक्दछ । त्यसैले जाडोयाममा बच्चाहरु, बृद्धहरु, गर्भवती एवम् सुत्केरी, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा रुघाखोकी, निमोनिया, दम, बाथ, छाला फुट्ने, झाडापखाला र श्वासप्रश्वास नली तथा फोक्सोमा संक्रमणको जोखिम बढ्ने गर्दछ र कतिपयको ज्यान पनि जान सक्छ,।‘त्यसैले जाडोबाट जोगिने नाममा आगो वा हिटर बाल्नु भन्दा बाक्लो कपडा लगाएर वा सिरक, ब्ल्यांकेट ओढ्नु स्वास्थ्यका लागि अति उत्तम हुन्छ ।’ हिटर वा आगो बाल्नै परे घरका झ्याल–ढोका पूरै बन्द गर्नु हुदैन । नाक बन्द हुने र नाकबाट लगातार सिगान बगिरहने भएमा, खोकी लागिरहने र खोक्दा छाती दुख्ने भएमा, टाउको दुख्ने, ज्वरो आउने र हाछिउँ आइरहने भएमा, बच्चाहरुमा कोखा हान्ने र श्वास फेर्दा घयार् घयार् आवाज आउने भएमा चिसोले भेटेको भनेर बुझ्नुपर्छ । चिसोबाट जोगिनका लागि अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्कने र घरबाट बाहिर निस्कनुपरे टाउको र मुख ढाकिने गरी टोपी र मास्क प्रयोग गर्नुपर्दछ । यसैगरी शरीर ढाकिने गरी न्यानो कपडा लगाउने, तातो झोलिलो पदार्थ नियमित पिउने, ताजा र तातो खानेकुरा खानुपर्दछ । स्थानिय निकाय तथा हामीले दाउरा,न्यानो कपडा आदि बाँडनु पर्दछ ।