
- प्रा.पवन कुमार साह
विद्युतको क्षेत्रमा अपार प्रशंसा तथा नाम पाएका कुलमान घिसिंगको साख घट्न थालेको कारण त्यसलाई जोगाउँन आवश्यक रहेको देखिन्छ । २०७३ सालको भदौमा पहिलोपल्ट नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशकको रूपमा नियुक्ति लिएका कुलमान घिसिङले ४ वर्ष कार्यकाल पूरा गरेपछि प्राधिकरणबाट बिदा हुँदा नेपालमा अब लोडसेडिङ इतिहास भइसकेको र कसैले चाहेर पनि लोडसेडिङ नफर्किने दाबी गरेका थिए । त्यतिबेला उनको प्रसिद्धि यति थियो कि उनलाई पुनः नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन नै भयो । त्यही प्रसिद्धिको बलमा तत्कालीन शेरबहादुर देउवा सरकारले २०७८ को साउनमा उनलाई सोही पदमा नियुक्त गरिदियो । तर, उनको दोस्रो कार्यकालको तेस्रो वर्ष चलिरहँदा उनकै भाषामा ’इतिहास भइसकेको’ लोडसेडिङले जनता र उद्योगी÷व्यवसायी आतंकित बन्न थालेका छन् । बक्यौताको ’डण्डा’ देखाएर उद्योगको लाइन काट्ने र काटिएको बिजुली अन्त वितरण गरेर कृत्रिम रूपमा लोडसेडिङ हटेको देखाउने उनको पछिल्लो रणनीतिले काम गरेन । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन गरेपछि र उद्योगीहरूले अधिकतम ६० किस्तामा बक्यौता रकम तिर्न पाउने सहुलियत प्राप्त गरेपछि घिसिङको इच्छा विपरित ती उद्योगहरूमा पुनः लाइन जोडिएको थियो । पछिल्लो समयमा ८ देखि १० घण्टा नियमित रूपमा लोडसेडिङ हुन थालेको छ । उद्योगमा मात्र नभएर सर्वसाधारणको लाइन पनि नियमित रूपमा काटिने गरेको उपभोक्ताहरूको गुनासो छ । विराटनगर र बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा दिनको ८ देखि १० घण्टा नियमितजसो लाइन जाने गरेको त्यहाँका उद्योगीहरू बताउँछन् । उद्योग चल्ने सिजनमा अघोषित रूपमा लाइन काटिन थालेपछि उद्योगीहरू आतंकित बनेका छन् । कुल उत्पादन क्षमताको ३० प्रतिशतभन्दा माथि उत्पादन गर्न नसकिएको उनीहरूको गुनासो छ । कोशीको औद्योगिक क्षेत्रमा गत एक महिनादेखि लोडसेडिङ भइरहेको उद्योगीहरूको गुनासो छ । कोशी प्रदेशमा लोडसेडिङ तालिका दिएको तर तालिकामा बताइए भन्दा ६ घण्टासम्म बढी विद्युत आपूर्ति बन्द हुने गरेको आरोप लागेको छ । बुटवल–भैरहवा क्षेत्रमा ट्रीपिङको समस्या धेरै रहेको पाइएको छ । रुपन्देही काठमाडौंपछि सबैभन्दा धेरै ठूला उद्योग सञ्चालनमा रहेको जिल्ला हो । नाकाको सहज पहुँच र अन्य ठाउँमा भन्दा यहाँ जग्गा पनि केही सस्तो हुँदा ठूला उद्योगले रुपन्देहीलाई रोजेर उद्योग सञ्चालन गरेका छन् । त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा ‘विगत १५÷२० दिनदेखि ट्रीपिङ अति बढेको छ । एकपटक लाइन जाँदा सबै सिस्टम बन्द हुन्छ,।’ कहिले लो भोल्टेज आउँछ र उद्योग चल्नै सक्दैन । कहिले हाई भोल्टेज आउँदा मोटरसहित धेरै इलेक्ट्रिक सामान जलेर समस्या भइरहेको छ ।’ ’लाइन आउँदैन, तर प्राधिकरणले यसलाई लोडसेडिङ भन्ने स्वीकार गर्दैन ।
यस परिवेशमा कुलमानले बीचको बाटो रोजेर विद्युत क्षेत्रमा देखिएको प्रतिकुल परिस्थितिलाई सकारात्मक बनाई जनविश्वास जित्न पहिले जस्तै प्रयारत रहन आवश्यक रहेको देखिन्छ ।