जनकपुरधामका ४ जना सुन व्यापारी पक्राउ परेपछि व्यवसायी आन्दोलित – Jaleshwortoday

जनकपुरधामका ४ जना सुन व्यापारी पक्राउ परेपछि व्यवसायी आन्दोलित

 १८ माघ २०८०, बिहीबार ०२:०९  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ माघ

बिना बिलको सुन ल्याएको भन्दै जनकपुरधामका सुन व्यापारी बलराम साह सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।साहको जनकपुरधाममा बलराम ज्वेलर्स (सुनचाँदी पसल) छन् । उनले बाहिरबाट बिना बिलको सुन खरिद गरेर ल्याएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए । व्यापारी साहसँगै कारोबारमा संलग्न अन्य केहि व्यापारीलाई समेत प्रहरीले पक्राउ गरेको बुझिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि धनुषा प्रहरीले राजश्व कार्यालय पथलैया पठाएको छ । स्रोतका अनुसार व्यापारी साह सिरहाको मिर्चैयास्थित कालिगढबाट ४४ ग्राम सुनका गरगहना किनेर ल्याउन लागेका थिए । प्रहरीले गोप्य सूचनाको आधारमा सुन सोही दिन नियन्त्रणमा लिएको थियो । आज व्यापारी साहलाई सोधपुछका लागि बोलाएर पक्राउ गरेको बुझिएको छ । व्यापारी साह पक्राउ गरेको विरोधमा जनपुरधामका व्यावसायीहरु आन्दोलित बनेका छन् । अधिकांश सुनचाँदी पसल बन्द छ । व्यावसायीहरु सडकमा टायर बालेर प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीले गलत इन्टेन्शनले व्यापारी साहलाई पक्राउ गरेको बताए । उनले भने, ‘मिर्चैयाबाट व्यापारी साहले सुनका गरगहना ल्याएका थिए । पैसा नदिएकाले बिल दिइएको थिएन् । यो सानो कुरालाई प्रहरीले ठूलो इसु बनायो ।’