कसैले भन्दैमा संघीयता खारेज हुन्नः प्रदेश प्रमुख मिश्र – Jaleshwortoday

कसैले भन्दैमा संघीयता खारेज हुन्नः प्रदेश प्रमुख मिश्र

 २२ माघ २०८०, सोमबार ०७:२९  
5

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ माघ

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले संघीयता कसैले भन्दैमा खारेज नहुने बताउनुहुँदै यसलाई संस्थागत गर्ने जिम्मेवारी मधेश प्रदेश सरकारको रहेको बताउनुभयो ।
मधेश प्रदेशसभाको छैठौ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले मधेश प्रदेश संघीयताको जननी भएकोले सरकारले जनताको चाहना अनुरुपको कार्य गरेर देखाउनु पर्ने आग्रह गर्नुभयो ।
मुख्यमन्त्री सरोजकुमार यादवले सरकार र संसद एकै रथका दुई पांग्रा भएको बताउनुहुंदै गठबन्धनहरु फेरिदैं गएको विभिन्न निर्वाचनहरुले गर्दा जुन गतिमा कामहरु हुनुपथ्र्याे हुन नसकेको स्वीकार्नुभयो ।
उहाँले आफ्नो नेतृत्वमा सबै दल सामेल भएको र आफूले मंत्रीज्यूहरुलाई विकास केन्द्रित असल कामहरु गर्न मात्र भनेको स्पष्ट पार्नुभयो । उहांले संघीयतालाई बलियो बनाउने संदर्भमा पटक पटक प्रधानमंत्रीज्यूसंग संवाद भएको प्रसंग कोट्याउंदै प्रधानमंत्रीलाई आफूले सकारात्मक पाएको अनुभव पनि सुनाउनुभयो । सरकारमा हुँदा सब ठीक, नहुंदा सब बेठीक यो सोच सही भएन, एक प्रदेशसभा सदस्यको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री यादवले गुनासो गर्नुभयो । भौतिक पूर्वाधार विकास मंत्री कृष्ण प्रसाद यादवले यो प्रदेश बनाउंदै पूर्वाग्रही भएर बनाइएको चर्चा गर्नुहुंदै ढिला भएपनि विकृति चिरेर आफूहरु अघि बढेको बताउनुभयो । मास्टर प्लान अनुसार मधेश प्रदेश स्तरीय काम हुनेछ, तपाईंहरुको साथ चाहिन्छ उहांले भन्नुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्री गोविन्दबहादुर न्यौपानेले मधेशमा समुचित रुपमा उत्पादन हुन सकेन भने पूरा देश भोकै बस्छ भन्नुभयो । उहांले भन्नुभयो, एकातिर अधिकार लिने कुरा छ अर्कोतिर विकास गर्ने कुरा छ, हामी सुतेका छैनौ, कृषि क्षेत्रमा धेरै काम गर्नुछ ।
यो पहिलो बर्ष हो, अर्को बर्ष हामी गरेर देखाउंछौ मंत्री न्यौपानेले वचनबद्धता व्यक्त गर्नुभयो ।
सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रतिपक्षी दल नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका उपनेता उपेन्द्र महतो, जनमत पार्टीका सांसद अनिता साह, नेकपा माओवादीका सांसद माला कर्ण, नेपाल संघीय समाजवादी पार्टीका सांसद बिमला अंसारी, नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिला देवी सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपसभामुख बबिता कुमारी राउत इशरले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।