- प्रा.पवन कुमार साह
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बि.स.२०५८ सालमा स्थापना भएको मैथिली विकास कोषले अनवरत रुपमा प्रत्येक २ वर्षमा मनाउने साहित्य,कला तथा अन्तर्राष्ट्रिय नाट्क महोत्वसले साहित्य,कला,नाट्क लगायत अन्य विभिन्न क्षेत्रलाई प्रबद्र्धन गर्नमा उच्च भूमिका खेलेको देखिन्छ । मैथिली विकास कोषको अथक प्रयास तथा लगनशीलताले मधेस प्रदेश लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरु एउटै मञ्चमा एकजुट हुने जमघटको वातावरण तयार पार्न सफल भएको भन्दा कसैको दुई मत नहोला । मिथिला क्षेत्रभित्र रहेको ऐतिहासिक तथा साहित्यीक व्यक्तित्वहरुको पहिचान तथा तिनीहरुलाई सम्मान गर्नमा यस कोषको भूमिका अग्रणी रहेको देखिन्छ । त्यसैगरी कला र कलाकारलाई विभिन्न अवसर प्रदान गरी तिनीहरु भित्र रहेको साँस्कृतिक कला तथा लोक संस्कारलाई विश्वको सामु परिचय गराउने तथा त्यसलाई सधैभरी यादगार बनाइ राख्न विशाल मञ्चको रुपमा मैथिली विकास कोष चिनिन थालेको भन्दा पनि कसैको अस्वीकृति नहोला जस्तो लाग्दछ । त्यसैगरी नाटकले हाम्रो समाजको चित्रण गर्दछ । चाहे त्यो अहिले वर्तमान परिवेशमा होस् वा कुनै शताब्दीको । नाटकले विभिन्न पात्रहरुको सहयोगले हाम्रो समाजभित्र रहेको विभिन्न कुसंस्कार तथा कुरितिहरुलाई देखाउनुका साथै यसको असर र समाधान समेत बताउने भएकोले यसलाई लोकप्रिय समेत मानिन्छ । यस्ता विभिन्न विषयहरुको उठान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नाटककार,लेखक तथा कलाकारहरुको पहिचान तथा सम्मानमा समेत मैथिली विकास कोषले आपार लगानी गरेको देखिन्छ । मैथिली विकास कोषले मैथिली भाषाभाषीलाई मात्र जगेर्ना नगरी यसले सबै भाषाभाषीको कलाकारहरुलाई सम्मान गरेको प्रमाणहरु भर्खरै बि.स.२०८० साल माघ २२ गते सोमबार समपन्न भएको महोत्सवबाट लिन सकिन्छ । कोषको द्विवर्षिय कार्यक्रम निरन्तर रुपमा संचालन गर्नु पर्ने आवश्यकता रहनुका साथै यस कोषले मैथिली लगायत यस क्षेत्रमा बोलिने भाषाहरुको औपचारिक रुपमा शैक्षिक पाठ्यक्रमबाट लागु गर्न गराउनुमा समेत नेतृत्व गर्न आवश्यकता रहेको देखिन्छ । यस कोषले नीजि तथा सामुदायिक विद्यालयहरुको सहयोगले साहित्य,कला तथा नाटकको क्षेत्रमा सानै स्तरबाट प्रतिभा चयन तथा त्यसको प्रबद्र्धन गर्न गराउनमा नेतृत्व प्रदान गर्दा सुनमा सुगन्ध थपिने थियो । मैथिली विकास कोषको वर्तमान अध्यक्ष जिवनाथ चौधरी लगायत कोषको सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।