सिंहदरबार गेटमा आरती साहकी आमालाई लछारपछार – Jaleshwortoday

सिंहदरबार गेटमा आरती साहकी आमालाई लछारपछार

 २३ माघ २०८०, मंगलवार ००:५२  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ माघ

न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन् । प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लग्यो ।
जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरुले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित उनका परिवार २३५ दिनदेखि धर्नामा बसिरहेका छन् । यसअघि माइतीघरमा धर्ना बसिरहेका उनीहरुलाई सरकारले निषेधाज्ञा घोषणा गरेर हटाएयता उनीहरुले शान्तिवाटिकामा बसेर धर्ना दिइरहेका छन् ।
जनकपुर उपमहानगरपालिका-९, थापा चोककी २३ वर्षीया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले उनको मृत्यु नभई हत्या भएको दाबी गर्दै आएको छ । प्रहरीले भने घटनालाई आत्महत्याका रूपमा मुद्दा दर्ता गरेर टुंग्याउन चाहेको थियो । आरतीको पोस्टमार्टम गर्ने कार्यमा संलग्न चिकित्स डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दिपेन्द्रकुमार सिंहले लापर्वाही गरेको र तत्कालीन प्रहरी अधिकारीहरुले समेत कमजोरी गरेका कारण आफूहरूले न्याय नपाएको भन्दै उनीहरू निरन्तर धर्नामा छन् ।