- प्रा.पवन कुमार साह
नेपालका उद्योग तथा कलकारखानाहरुलाई लोडसेडिङबाट बचाउन आवश्यक रहेको देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले एक महिनायता दैनिक ८ देखि १० घण्टा बिजुली काटेपछि देशभरका उद्योगी आजित बनेका छन् । प्राधिकरणले एक÷डेढ महिनायता देशभरका औद्योगिक करिडोरमा निरन्तररुपमा दैनिक ८ देखि १० घण्टासम्म बिजुली काट्दै आइरहेको छ । दैनिकरुपमा बिहान र बेलुका गरेर दुई ‘सिफ्ट’मा लोडसेडिङ हुँदा देशभरका उद्योगी आजित बनेका हुन् । पूर्वका सबैजसो औद्योगिक करिडोरमा दैनिक रुपमा नै अघोषित लोडसेडिङ भइरहेको अवस्था छ । ‘प्राधिकरणले लोडसेडिङको तालिका दिएको छैन,’ ‘तर, बिजुली भने नियमित काटिरहेको पाइएको छ ।’ यसले गर्दा अहिले सामानहरु उत्पादनमा नकारात्मक प्रभाव परेको देखिन्छ । प्राधिकरणले बिहानको समयमा ४ देखि ५ घण्टा र बेलुकाको समयमा सोही अनुपातमा बिजुली काट्दै आएको छ । दैनिक रुपमा बिना कुनै पूर्वसूचना उद्योगको लाइन काट्दा उत्पादन प्रभावित बन्नुका साथै मेसिनरी बिग्रने गरेको छ । ‘प्राधिकरणले दैनिक २ पटक गरेर ८ घण्टासम्म बिजुली काट्दा औद्योगिक उत्पादन बिग्रिरहेको छ भने आर्थिक अवस्था धान्न ज्यादै नै मुस्किल भएको बुझिएको छ । अहिले वीरगञ्जतर्फ बिहान ४ र बेलुका ४ घण्टाका दरले बिजुली गइरहेको छ । उद्योगीले प्राधिकरणको क्षेत्रीय कार्यालयलाई पटक–पटक मौखिक र लिखितरुपमा लोडसेडिङ नगर्न अनुरोध गरेका छन् । तर, क्षेत्रीय कार्यालयले कुनै सुनुवाइ नगरेको गुनासो उद्योगीहरूको छ । वीरञ्जका उद्योगीहरुले बरु ‘सेड्यूल’ बनाएर औपचारिक रुपमा नै बिजुली काट्न भने पनि प्राधिकरणले नमानिरहेको व्यवसायीहरुको भनाई छ । पूर्वसूचना बिना नै अनौपचारिकरुपमा बिजुली काटिँदा उत्पादनको तयारीमा रहेका सामाग्रीमा क्षति पुग्दा घाटा लाग्ने गरेको छ । अहिले आर्थिक अवस्था कमजोर भएको कारण नेपालको औद्योगिक क्षेत्रको विकास बिना नेपालको समग्र विकास असम्भव भएकोले आन्तरिक उत्पादन नभएमा भारतबाट ल्याएर विद्युत नियमित आपूर्ति दिनुपर्छ’। नेपालमा सुख्खा र वर्षायाम गरी बिजुली उत्पादनका दुई सिजन छ । निजी क्षेत्रबाट सञ्चालित सबैजसो आयोजना नदी प्रवाह (आरोआर) मा आधारित छन् । यस आधारमा ती आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ । सुख्खयाममा नदीमा पानीको बहाव घट्दा आरओआर आयोजनाबाट सो समयमा क्षमताभन्दा ८० देखि ९० प्रतिशतसम्म उत्पादन घट्छ । आन्तरिक उत्पादन ह्वात्तै घटेपछि सुख्खायामको माग धान्न प्राधिकरणले भारतबाट बिजुली ल्याउँदै आएको छ ।