
- प्रा.पवन कुमार साह
हाम्रो अर्थतन्त्रको वास्तविकता सन्दर्भमा करिब दुई वर्षदेखि नीतिगत रूपमा प्रधानमन्त्री र अर्थमन्त्रीका भाषणमा मात्रै होइन, चिया पसलमा हुने गफमा पनि अर्थतन्त्र बिग्रिएको विषयमा कुराकानी हुने गर्छन् । पछिल्लो डेढ–दुई शताब्दीकै इतिहास हेर्दा पनि नेपालको अर्थतन्त्र उम्दा हिसाबले सप्रिएको कहिल्यै छैन । कहिल्यै नसप्रेको अर्थतन्त्रमा यो दुई वर्षमा थप के बिग्रियो र यति धेरै मानिस यसबारे बुझ्न आवश्यक छ ।
रक्तचाप, सुगर लेभलजस्ता सूचकले शरीर बिरामी छ कि छैन भन्ने थाहा लागेजस्तै, विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, लगानी, व्यापार, कुल गार्हस्थ उत्पादन (जीडीपी), वस्तु वा सेवाको माग, बजेट, राजस्व, लगानी, ब्याजदर, तरलताको अवस्था लगायतबाट अर्थतन्त्रको रोग पत्ता लाग्छ । जनता मात्रै होइन, नेता र नीति निर्माताले नै एक जनाको टाउकोमा यति ऋण पुगिसक्यो, अब लिनुहुन्न भन्ने गरेको बाक्लै सुनिन्छ । अहिले नेपालको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब पुगेको छ । यसअनुसार एक नेपालीको टाउकोमा ८१ हजार ७ सय ५९ रुपैयाँ ऋण थुप्रिएको छ । तर, के साँच्चै नेपालको ऋण धेरै नै हो ? तथ्यांकले त्यस्तो भन्दैन । अहिले नेपालको जीडीपीमा ऋणको अनुपात ४४ प्रतिशत छ । जबकि, हामीमध्ये धेरैले आदर्श मान्ने देश जापानको यस्तो अनुपात २ सय ६४ प्रतिशत छ । सिंंगापुरको १ सय ६८ र अमेरिकाको १ सय २९ प्रतिशत छ । ‘नेपालले त्यति धेरै ऋण पु¥याउनुहुँदैन । नेपालकै पनि कुनै बेला जीडीपीमा ऋण अनुपात ६७ प्रतिशतसम्म पुगेको थियो । ‘अहिले विकासको आवश्यकता पूर्तिका लागि त्यति पनि ऋण पु¥याउन आवश्यक पर्दैन, जीडीपीको ५० प्रतिशत ऋण लिन डराउनु पर्दैन,’ । आन्तरिक ऋण उठाएर खर्च गर्दा अर्थतन्त्रलाई पनि त्यसले नकारात्मक असर नपार्ने भएकाले त्यसका लागि सरकार डराउन नहुने सल्लाह विज्ञहरुको छ ।
कुनै पनि देशले विदेशबाट सामान आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ । त्यस्तै विदेशबाट लिएको ऋणको सावाँ–ब्याज पनि विदेशी मुद्रामा नै भुक्तानी गर्नुपर्छ । विदेशी लगानीकर्तालाई लाभांश लैजान दिन पनि विदेशी मुद्रा चाहिन्छ । त्यही भएर देशहरूले निश्चित मात्रामा विदेशी मुद्रा अमेरिकी डलर, युरोलगायत सञ्चिति गरेका हुन्छन् । आफ्नो मुद्राको मूल्य स्थिर राख्न वा अमेरिकी डलरको तुलनामा आफ्नो मुद्राको मूल्य कम राख्न, विदेशी दायित्व भुक्तानीका लागि सक्षम बनाइराख्न, मुलुकमा आउन सक्ने आर्थिक संकटबाट जोगिन तथा कहिलेकाहीँ देशभित्रका परियोजनामा लगानी गर्न पनि विदेशी मुद्रा सञ्चिति राख्ने गरिन्छ । तर, विदेशी मुद्रा सञ्चिति कति राख्ने भन्ने विषयमा चनाखो हुनुपर्ने छ ।