गणेश कुमार सिंह
महोत्तरी, २७ माघ
नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ । १३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंठो जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि भएको मतदान भएको थियो । मतदान पश्चात् शनिबार बिहान सार्वजनिक गरिएको मतगणना परिणाम अनुसार बलराम यादव नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले बताए। निर्वाचन अधिकृत क्षेत्रीका अनुसार नेकपा एमाले महोत्तरी अध्यक्षमा यादव २५९ मत ल्याई विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताए । विजयी भएका यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७ , सचिवमा शम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ मत ल्याएर विजय भएका हुन् । निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताउनु भएको छ । ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीमा ४२९ मतदान भएको थियो ।