
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १८ फागुन
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुवात गरेको छ । चार राष्ट्रको प्रतिस्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रबारदेखि सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भुटानमाथि गोल वर्षा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि अनुष्काले ह्याट्रिक पूरा गर्दै पर्ल फर्नान्डेजले दुई गोल गरिन् । कप्तान श्वेता रानी र अन्विता रघुरमनले समान एक गोल थपे । भारतले पहिलो हाफमा नै ६ गोल गर्दै भुटानमाथि पूर्ण रूपमा हाबी भयो । तर दोस्रो हाफमा भने भूटानले एक गोल मात्र बेहार्यो । कप्तान रानीले खेलको छैटौँ मिनेटमा नै गोल गर्दै अग्रता दिलाइन् । पर्लले १३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि नै अनुष्काले गोल गरिन् । पर्लले २६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४–० ले अगाडि रह्यो । एक मिनेट पनि नबित्दै अनुष्काले अर्को गोल थपिन् । उनले ४०औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् र पहिलो हाफमा भारत ६–० ले अगाडि रह्यो । दोस्रो हाफको ६१ औँ मिनेटमा अन्विताले गोल गरेपछि भारतले ७–० को अग्रता बनायो । त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले हार व्यहो¥यो । जितसँगै भारतले तीन अंक जोडेको छ । भारतले आफ्नो दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । नेपालले शनिवार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल दिनको तीन बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।