
जलेश्वरटुडे समाचारदाता
रौतहट, २२ फागुन
रौतहट गुजरा नगरपालिका वडा नम्बर ५ मा सञ्चालन रहेको रहमान प्राथमिक विद्यालयमा जाने सार्वजनिक बाटो कब्जा गरेपछि विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई विद्यालय जान समस्या भएको छ । विद्यालयका प्रध्यानाध्यापक मोहमद अफरोज आलमले वडा अध्यक्ष शेख जमालुदीनले सर्वे नक्सामा करिव ७० फिट कायम रहेको सार्वजनिक सडक कब्जा गरेको आरोप लगाए । वडा अध्यक्ष जमालुदीन र सोही वडाका ६५ वर्षीय शेख वहाबले विद्यालयमा आवतजावतको लागि प्रयोग हुँदै आएको बाटो निजी कब्बामा लिएको दाबी गरिएको हो । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रध्यानाध्यापक आलमले यस्तो आरोप लगाएका हुन् । रौतहट कनकपुर वडा नम्बर १ को किता नम्बर २५१४ को २ कट्ठा जग्गामा स्थापना भएको विद्यालयको नेपाल सरकारको सर्वेमा पश्चि तर्फबाट कायम रहेको करिब ७० फिट सार्वजनिक सडक वडा अध्यक्षले बलपूर्वक कब्जा गरेकोपछि विद्यालयमा अध्यनरत रहेको ३ सय ८३ जना बालबालिकाको पठन पाठन प्रभावित भएको बताएका छन् ।
विद्यालयको विकास गर्नु पर्नेमा स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिले विद्यालयको विनाश गर्नेतर्फ अग्रसर भएको उनको भनाइ छ । २०६६ सालमा स्थापना भएको सो विद्यालयमा विद्यार्थीहरु सोही बाटो भएर विद्यालयमा निर्विवाद रुपमा आउने गरेकोमा अहिले आएर वडा अध्यक्षले सो बाटो निजी रुपमा कब्जा गरेपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको बताए । विद्यालयमा आउने बाटो कब्जा गरेका वडा अध्यक्ष उपरमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा निषेधाज्ञा दायर गरेकोमा फागुन २२ गते छलफलको लागि तारिख तोकिएको प्रध्यानाध्यापक आलमले बताए । निषेधज्ञाको सूचना पाएका वडा अध्यक्षले इँटाको पर्खाल नै बाटोमा हालेको बताए । विधालयमा जाने बाटो किन अवरोध गरेको भनेपछि कुटपिट गर्ने धम्की दिने गरेको उल्लेख गरे । कब्जा गरेको बाटो खुलाउनको लागि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदा कुनै प्रतिक्रिया नदेखाएको उनको गुनासो छ ।