निजी विद्यालयको बसले दुर्घटना बढदा ट्राफिक प्रहरीद्वारा कडाई – Jaleshwortoday

निजी विद्यालयको बसले दुर्घटना बढदा ट्राफिक प्रहरीद्वारा कडाई

 २२ फाल्गुन २०८०, मंगलवार २३:२८  
14

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ फागुन

निजी विद्यालयको बसले दुर्घटना बढदा ट्राफिक प्रहरीद्वारा कडाई गरिएको छ भने ठाउँ ठाउँमा कडा चेक जाँच गर्न थालिएको छ । चालकको हेलचेक्रयाइँले जनकपुरधामको बिन्धीमा भएको स्कुल बस दुर्घटनामा दुईजना पैदलयात्रु मारिएका र थप छजना घाइते भएका घटनापछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले निजी शिक्षण संस्थाका सवारीसाधन नियमनमा सक्रियता देखाएको छ ।

सामुदायिक, संस्थागत वा अन्य निकायबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थी ओसारपसारमा प्रयोग गरिरहेका आफ्नै वा भाडाका माइक्रोबस, मिनिबस र भ्यानसहितका सवारीसाधनका गति, रङ्ग, स्वरूप, संरचना, सिट क्षमता तथा सङ्केत एवम् प्राथमिक उपचार आदि अत्यावश्यक सेवाका स्रोत व्यवस्थापनसँगै जनशक्ति र सञ्चालन विधि लगायतका विषय निर्देशिकामा समेटिएका छन् ।

निर्देशिकाअनुरूप कडाइका साथ स्कुल बस नियमन गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक शेखर साहले बताए । उनले निर्देशिकामा उल्लेखित प्रावधान व्यवस्थित र सुचारु गराउन स्कुल बसका चालक तथा परिचालकसँग अन्तरक्रिया गरिने जानकारी दिए ।

निर्देशिकामा स्कुल बसको अधिकतम गति ४० किलोमिटर प्रतिघन्टा रहेको उल्लेख भए पनि सीमित बस, निश्चित समय र बढी रुटका कारण चालकले सहरी सडक तथा राजमार्ग एवम् सहायक मार्गमा त्यसभन्दा तीव्रताका साथ सवारीसाधन गुडाउने गरेका छन् ।

१२ वर्ष उमेरभन्दा कमका बच्चा ओर्सादा एक गुना पाँच दशमलवसम्म सिट क्षमताभित्र प्रयोग गर्न सकिने र १२ वर्षभन्दा माथिका विद्यार्थीका लागि सिट क्षमताबराबर नै बसाइ व्यवस्थापन हुने भनिए पनि स्कुल बसमा कोेचाकोच गरेर विद्यार्थी ल्याउनेलैजाने गरिएको छ ।
प्रहरी निरीक्षक साहले परिचालकलाई समेत नटेर्नेगरी बच्चाहरूले बसभित्र पछाडिका सिट खाली हुँदाहुँदै पनि उभिएर यात्रा गर्नेगरेका अनुगमनक्रममा देखिएको बताए ।

स्कुल बसको बाहिरको रङ्ग पहेलो हुनुपर्ने भनिए पनि अन्य रङ्गका बसहरूले समेत विद्यार्थी ओसार्ने गरेका छन् । स्कुल बसका अगाडि र पछाडि कालो रङ्गले रोमन लिपिमा स्कुल बस लेखिनुपर्ने, भाडामा लिएका भए स्कुलको नाउँसहित अन स्कुल ड्युटी लेखिएको ब्यानर वा बसको अगाडिपछाडि देखिनेगरी स्कुल बस लेखिएको प्लेट हुनुपर्ने, स्कुलको परिचय खुल्नेगरी १५० मिमि उचाइको गोल्डेन ब्राउन रङ्गमा स्कुलका नाउँ दुवैपटिट् झ्यालको लेभलभन्दा तल लेखिनुपर्ने र बसका अगाडिपछाडि स्कुल बसको चिह्न लेखिनुपर्ने व्यवस्था निर्देशिकामा छन् ।

प्रहरी निरीक्षक साहले झोलासहित बालबालिका हिँडिरहेका देखिने स्कुल बसको चिह्न केही सवारीसाधनमा लेखिएको र नयाँ सवारीसाधनमा पहेलो रङ्गसहित स्कुल बस भएको तथा स्कुलको परिचय खुल्ने जानकारी लेखिने गरिएको बताए ।

त्यस्तै बसको भौतिक संरचनातर्फ सवारीसाधनमा आपतकालीन ढोका, झ्यालमा ग्रिल, प्राथमिक उपचार किट, अग्निाियन्त्रण उपकरण, फोहोर फ्याक्ने टोकरी, झ्यालमा पारदर्शी सिसा, स्कुल ब्याग राख्ने तख्ता, प्रवेशद्वारको सबैभन्दा तल्लदो सिढी ३०० मिमिभन्दा बढी नहुने, कुनै पनि भागबाट तिखो र धारिलो वस्तु ननिस्केका सिट आदि हुनुपर्ने निर्देशिकामा उल्लेख छन् ।

प्रहरी निरीक्षक साहले झ्यालमा ग्रिल लगाउने व्यवस्थाका लागि र निर्देशिकाअनुसार सार्वजनिक सवारीसाधन सरह जाँचपास लिन शिक्षण संस्था सञ्चालकलाई जानकारी गराइएको बताए ।

प्रत्येक विद्यार्थीका लागि स्कुल बसका नम्बर, रुट र बिसौनी उल्लेख भएका विद्यार्थीको तस्बिर सहितका परिचयपत्र जारी हुनुपर्ने, बसचालकले विद्यार्थीका नाम, ठेगाना, कक्षा, रक्तसमूह, रोक्नुपर्ने बिसौनी उल्लेख भएका सूची राख्नुपर्ने, बस सञ्चालनको मार्गतालिका तथा समयसारिणी बसमै टाँस गरिनुपर्ने निर्देशिकामा उल्लेख भए पनि यी व्यवस्था कुनै पनि सवारीसाधनमा देखिँदैनन् ।

अभिभावकहरुको अनुसार विद्यालयहरुले चालकलाई राम्रोसँग सचेतना दिनु पर्छ भने सरोकारबालाहरुले समेत दुर्घटना सम्बन्धी जानकारी तथा दण्ड सजायको बारेमा चालक तथा सहचालकलाई समयमै जानकारी गराउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।