
जलेश्वरटुडे समाचारदाता
धनुषा, २ पुस
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधामस्थित जानकी मन्दिरमा तिलकोत्सव ‘सम्धी मिलन’ सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार तिलकोत्सव विधि गरिएको हो । राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए । प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए । दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी मिलन भन्ने गरिन्छ । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।कोरोना महामारीका कारण यसपटक अधिकांश विधि जानकी मन्दिरमा रामलिलाको लागि बनाइएको पण्डालमा गरिए पनि तिलकोत्सव भने प्रत्येक वर्ष झै यस वर्ष पनि राममन्दिरमा गरिएको छ । तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए । अब विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। आइतवार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।