जलेश्वरटुडे समाचारदाता
रौतहट, २३ फागुन
रौतहटका उत्तरी भेगका सर्वसाधारणले राहदानी (पासपोट) बनाउनका लागि असहज भएको छ । ईलाका प्रशासन कार्यालय दिँदै आएको सेवा उपलब्ध नगराएपछि राहदानी बनाउन समस्या भएको हो । अहिले यहाँका बासिन्दा पासपोर्ट बनाउनका लागि छिमेकी जिल्ला वा सदरमुकाम गौर जान बाध्य भएका छन् । यहाँका बासी राहदानी बनाउनका लागि चन्द्रपुरबाट ४२ किलोमिटरको यात्रा तय गरी गौर पुग्नु पर्ने वा कतिपयले सर्लाहीको हरिऔनमा रहेको ईलाका प्रशासन कार्यालयबाट राहदानी बनाउने गरेका छन् । हरेक सेवा सुविधा गाउँ गाउँमा आएको भनिएपनि यहाँ गाउँमा आएको सेवा विस्थापित भएको प्रति स्थानीयले दुखेसो गरेका छन् । राहदानी बनाउनका लागि गौर वा सर्लाही जानु पर्ने बाध्यताले खर्चिलो र दुख पाएको स्थानीय श्यामहरि बस्नेतले बताए । उनका अनुसार राहदानी बनाउनका लागि असहज भएकाले यस विषयमा सरोकारवाला निकायले ध्यान दिनु पर्दछ । सो कार्यालयमा २०७० सालदेखि उपसचिवको दरबन्दी कायम गरिएको थियो । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा उपसचिवको दरबन्दी हुँदा पनि राहदानीको सेवा नपाउनु दुखद भएको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्व कोषाध्यक्ष रमेश तिमल्सिनाले बताए । उनले सामाजिक संजाल फेसवुकमा उपसचिवको दरबन्दी रहेको प्रशासन कार्यालयले सेवा प्रवाह नगर्नुको कारण स्प्रष्ट नभएको उल्लेख गरेका छन् । ईलाका प्रशासन कार्यालय हरिऔन सर्लाहीमा शाखा अधिकृत रहने गरेपनि राहदानी सेवा उपलब्धता हुँदै आएको तर यहाँ उपसचिवको दरबन्दी हुँदा पनि सेवा प्रवाह नहुन दुखद भएको उनको टिप्पणी छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर, बृन्द्धावन र गुजरा नगरपालिका सम्पूर्ण सेवाग्राही र गरुडा तथा फतुवा बिजयपुरका केही वडाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीको सेवा प्रवाह गर्दै आएको थियो । तर हाल प्रशासनले सो सेवा दिन छाडेपछि अहिले सर्वसाधारणलाई राहदानी बनाउन निकै कठिन भएको छ । २०५५ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले राहदानी बाहेक अन्य सेवा भने दिँदै आएको छ ।