पालिका कपमा गौरले ३६ रनले मौलापुरलाई तथा यमुनामाईले परोहालाई ८ विकेटले पराजित – Jaleshwortoday

पालिका कपमा गौरले ३६ रनले मौलापुरलाई तथा यमुनामाईले परोहालाई ८ विकेटले पराजित

 २९ फाल्गुन २०८०, मंगलवार २२:०५  
10

जलेश्वरटुडे समाचारदाता
रौतहट, २९ फागुन

जिल्ला पालिका कप २०८० को पहिलो संस्करण अन्तर्गत मंगलवार भएको खेलमा सदरमुकाम गौरले मौलापुरलाई तथा यमुनामाईले परोहालाई पराजित गरेका हुन् । पालिकाहरूको सहयोगमा तथा रौतहट क्रिकेट सङ्घको आयोजनामा राइस मिल्समा सञ्चालित पालिका कप २०८० अन्तर्गत भएको दोस्रो खेलमा गौर न पा टिमले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १६० रनको योगफल तयार गरेका थिए।गौरका लागि क्याप्टेन सन्नी साहले ६० बलमा ८ चौका ७ छक्काको मद्दतले अविजित रहदैं १०७ रन बनाएको थियो । राज पटेल १७, रबी साहले २१ रनको योगदान आफ्ना टिमलाई दिएका थिए ।

प्रतिउत्तरमा मौलापुर नगरपालिकाको टिम १६१ रनको लक्ष्य पुरा गर्न मैदानमा ओर्लिदा सुरुमा राम्रो प्रदर्शन गरेपनि अन्तिममा १२४ रनमा सीमित रहदैं ३६ रनले हार बेहोर्न बाध्य भए । मौलापुरको ओपनिंग साझेदार ५१ भएको थियो । त्यसपछि विकेट खस्ने क्रम सुरु भएको २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्रै बनाए । रोहित ठाकुर ३१ र रुपलाल यादवले २३, राधेश्याम पटेलले २१ रन बनाएको थियो ।गौरका लागि आंशिक साहले ३, सितेश तिवारी र रेहान जाकिरले क्रमशः २ विकेट, सन्नी साह र राजकुमार चौधरीले क्रमशः एक एक विकेट लिएर आफ्ना टिमलाई विजयी बनाएको रौतहट क्रिकेट सङ्घले जनाए । मंगलवारको खेलमा म्यान अफ दि म्याच सन्नी साह भएका हुन् ।

यस्तै मंगलवार भएको पहिलो खेलमा यमुनामाईले परोहालाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन् ।

टस जितेर यमुनामाईले परोहालाई ब्याटिङ गर्न आमन्त्रण गरेका थिए । परोहाले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका यमुनामाईले ११.२ ओभरमा दुई विकेट गुमाउँदै ८५ रन बनाएर विजयी सुरुआत गरेको रौतहट जिल्ला क्रिकेट सङ्घका प्रेस संयोजक प्रवीण टिब्डेवालले बताए ।

यमुनामाईका लागि अयान मुखिया अविजित रहँदै ३३ बलमा ३१ रन, प्रिन्स झाले १२ बलमा १७ रन, अरसद आलमले १२ बलमा १५ रन तथा अविजित रहँदै डब्लु मल्लिकले १२ बलमा १७ रन बनाएर आफनो टिमलाई पहिलो जित हारे पार्न मद्दत गरेका थिए । परोहाका विरालाल महतो र महम्मद जमालले क्रमशः एक एक विकेट मात्रै लिए ।

यमुनमाईको तर्फबाट रेहान आलमले ३.३ ओभरमा एक मेडन राख्दै १० रन दिएर ३ विकेट लिएकोमा मंगलवार उनलाई म्यान अफ दि म्याचको पुरस्कार दिइएको रौतहट क्रिकेट सङ्घले जनाए ।