
सोनी साह
जलेश्वर, २९ फागुन
महोत्तरी जिल्लाको जलेश्वरमा बिहिबार सुगा हुँदै मिथिला मध्यमा परिक्रमा आउने भएको छ । सो अवसरमा श्रद्धालु ऋषिमुनि तथा साधुसन्तको लागि सबै तयारी भईसेकेको नगरप्रमुख सुरेश साह सोनारले जानकारी गराउनु भयो । स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य अत्यावश्यक व्यवस्था गरिएको नगरप्रमुख सोनारले जानकारी गराउनुभयो । यस अवसरमा परिक्रमा स्थल लगायत सम्पूर्ण नगरलाई सफासुग्घर बनाइएको छ । साथै यसै अवसरमा बिहिबार अत्यावश्यक काम बाहेक नगरभित्र सार्वजनिक विदा समेत दिइएको छ । मिथिला बिहारी तथा किशोरी जीको डोलालाई नगर प्रमुख सोनार स्वयंले स्वागत गर्ने कार्यक्रम रहेको छ । साथै सबै नगरबासीलाई साधुसन्त लगायत डोलासँगै सहभागि हुन अनुरोध समेत गरेको नगरप्रमुख सोनारले बताउनु भयो । यसै गरी प्रत्येक वर्ष झै यस वर्ष पनि साधुसन्तलाई सेवा तथा सहयोग गर्न सुगा भवानीपट्टीको मुख्य सडकहरु सफा गरिएका छन् भने श्री मिथिला बिहारी राज रतन आश्रमले निःशुल्क भोजनको व्यवस्था गरेको बुझिएको छ ।