खाताधारीको रकम एलआईसीद्वारा हिनामिना गरेको आरोप – Jaleshwortoday

खाताधारीको रकम एलआईसीद्वारा हिनामिना गरेको आरोप

 १ चैत्र २०८०, बिहीबार २३:०८  
2

जलेश्वरटुडे समाचारदाता
रौतहट, १ चैत्र

एलआईसी नेपाल लिमिटेडले खाताधारीको रकम हिनामिना गरेको भन्दै रौतहट जिल्लाका स्थानीय अभिकर्ताहरुले सामूहिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । एलआईसी नेपाल लिमिटेडका उच्च पदस्थ कर्मचारीहरुले सन् २०२० मा गौर शाखा र जनकपुरधाममा करोडौं रकम अनियमिता गरेको भन्दै छानविन गरी कारवाहीका लागि अभिकर्ताहरुले चैत १ गते आयोगमा संयुक्त रुपमा उजुरी दर्ता गराएका हुन् । लामो समयदेखि एलआइसीमा आवद्ध भएर काम गर्दै आएका अभिकर्ता लायन पाण्डेय सतेन्द्र, सुमितकुमार सूर्या, अनिताकुमारी साह, अनिल राउत, रंजीत ठाकुर हजाम र आर्या पाण्डेयले संयुक्त रुपमा आयोगमा उजुरी दिएका हुन् । उजुरीमा कम्पनीले कानून विपरीत अवार्ड, पुरस्कार, सेमिनार, गोष्ठी डाक्टरहरुको नक्कली हस्ताक्षर, स्टाम्प बिल, मेडिकल सर्टिफिकेट लगायत प्रयोग गरी करोडौं रुपैयाँ अनियमिता गरेको दाबी गरिएको छ । साथै, उजुरीमा कम्पनीले नियमअनुसार पाउनु पर्ने सुचना दिन नमानेको, दिएको सूचनाको आधारमा तलबी कर्मचारीहरुको मिलोमतोमा नेपाल राष्ट्रको कानून नियम निर्देशिकालाई मिचेर बिना प्रक्रिया, नयाँ बीमालेख जारी गर्ने, बिना प्रक्रिया ऋण निकालेको, कानून विपरीत विभिन्न व्यक्तिलाइ ऋणी बनाएर कम्पनी आफ्नै नाममा ऋणको चेक तयार गरेको र कम्तिमा एक सय जनाको अभिलेख प्रमाणसहित रहेको दाबी गरिएको छ । त्यस्तै, उजुरीकर्ताले योजनामा सघाउनेलाइ बढुवा गर्ने, उसको रुची भएको ठाउँमा सरुवा गर्ने नाटकीय अनुसन्धान र नियमित सुपरभीजनको नाममा लुट गरी ९ महिना भन्दा बढ़ी दिनदेखिको अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरेको आरोप समेत लगाएका छन् ।