
गणेश कुमार सिंह
महोत्तरी, ३ चैत्र
महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार र उप-प्रमुख रौसन खातुन लगायत नगरवासीहरुले सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेललाई भव्य स्वागत गरेका छन् ।
जलेश्वर महादेव बाबाको मन्दिरमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले विधिवत पुजा पाठ गरेका छन् । पुजा गरि सकेपक्ष्त नगर प्रमुख साहले जलेश्वर नगरपालिकाको सम्झनाको लागि मायाको चिनो समेत दिनु भएका छन् ।
वडा नं.-५ मा रहेको चौरिया कुटीमा नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा, संविधानसभा सदस्य एवं नेपाल सरकारका पूर्वमन्त्री स्व. गणेश नेपाली को जलेश्वर नगरपालिका वडा नं.-५ चौरिया कुटी परिसरमा निर्मित प्रतिमा अनावरण तथा उद्यान समुद्घाटन सुसम्पन्न गरेका छन् ।चौरिया कुटीको पक्ष्चिम पट्टी पोखरी किनारामा वरको बोट रोपि पानी समेत हाल्नु भएका छन् ।
त्यस्तै लोकतन्त्र आउँदा पनि जनताले परिवर्तन नभएको अनुभुती सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
शहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा महोत्तरीको महिटानी नगरपालिकाको वडा नंं ८ मा निर्माण भएको शहिद केशव कोइरालाको शालीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्र अनुसारको संस्कार र संस्कृतिको विकास हुन अझै बाँकी रहेको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि सुन्दर उपहार भए पनि प्रदेशहरूलाई अझै अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा नै सेवा तथा सुविधा प्रवाह गर्न ढिलाइ गर्न नहुने विषयमा दलका शीर्ष नेताहरूलाई आफूले पटक पटक ध्यानाकर्षण गर्दै आएको बताए ।
उनले राजनीतिक उपलब्धिको रुपमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूत गराउन अझै धेरै विषयहरू गर्न बाँकी रहेकाले गणतन्त्रलाई बलियो बनाउनका लागि गणतन्त्र बलियो बनाउने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
उनले शहिद स्व.केशव कोइराला जस्ता लोकतान्त्रिक योद्धाको प्रतिमाको निर्माण मटिहानी नगरपालिकामा गराएर मटिहानीको प्राचीनता तथा पौराणिकतालाई थप उजागर गर्ने काम भएको बताए।राष्ट्रपति पौडेलले जनताको ठूलो सङ्घर्ष तथा बलिदानबाट बनेको संविधानपछि स्वायत्तताको अवधारणा गाउँ तथा प्रदेशमा गएपनि धेरै अधिकारका विषयहरू स्थापित गर्नका लागि अझै बाँकी रहेको बताए।
उनले देशको आर्थिक, सामाजिक रूपान्तरण गरेर निमुखा जनताको जीवन स्तर अझै माथि उकास्न आवश्यक भएको उल्लेख गर्दै यसका लागि व्यवस्था परिवर्तन भए जस्तै जनताको अवस्था परिवर्तनको अनुभूतिका लागि तल्लो तहमा अधिकार प्रत्यायोजित गर्न आवश्यक भएको बताए ।
‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताले राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन, आचरणमा परिवर्तन पनि हो ।’
राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले एकदलीय शासन व्यवस्थालाई जरैसँग उखेल्ने काम कठिन र संघर्षपूर्ण रहेको स्मरण गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा राजनीतिक स्थिरताका लागि संविधान संशोधनको विषयमा अहिले सबै दलका शीर्ष नेताहरूले महशुस गर्न थालेकाले संविधान संशोधन शीघ्र हुनुपर्ने धारणा राखेका छन् ।