गणेश कुमार सिंह
महोत्तरी, ४ चैत्र
मिथिला मध्यमिकी परिक्रमाका यात्रीहरुले कञ्चनवनमा एकअर्कालाई अबिर दलेर होली मनाएका छन्।
त्रेतायुगमा भगवान राम र सीताले रंग दलेर होली खेलेको सम्झनामा आइतबार महोत्तरीको कञ्चनवनमा परिक्रमामा सहभागीहरूले होली खेलेका हुन्।
प्रत्येक वर्षझैं यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरूले एकअर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्।
कञ्चनवनमा परिक्रमामा सहभागीहरूले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ।
परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरू बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता हुन्छ।
फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थलसमेत रहेको छ।
इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र जानकीले होली पर्व मनाएको विश्वास गरिन्छ।
कञ्चनवनको होलीको प्राचिनतालाई देखेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आइरहेको छ।
जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनवन पुगेको हो।