नेपाल शिक्षक संघ जनकपुरको पाँचौ प्रतिनिधिसभा सम्पन्न – Jaleshwortoday

नेपाल शिक्षक संघ जनकपुरको पाँचौ प्रतिनिधिसभा सम्पन्न

 ८ चैत्र २०८०, बिहीबार २१:०७  
1111

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ चैत्र

नेपाल शिक्षक संघ स्थानीय कार्य समिति जनकपुरधामको पाँचौ प्रतिनिधिसभा बिहीबार सम्पन्न भएको छ ।

प्रतिनिधिसभामा स्थानीय कार्य समितिका सचिव रामअशिष यादवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल हुनुका साथै वर्षदिनमा गरिएको कार्यक्रमको समीक्षा तथा आगामी कार्य योजनाबारे समेत मन्थन गरिएको हो ।

नेपाल शिक्षक संघ स्थानीय कार्य समितिका अध्यक्ष गौरिशंकरलाल कर्णको अध्यक्षतामा भएको प्रतिनिधिसभामा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले शिक्षाको गुणस्तर सुधार गरेर अघि बढ्न शिक्षकहरुमा आग्रह गरे । गुणस्तरमा सुधार नल्याएसम्म शिक्षा क्षेत्रको विकास नहुने तर्क गर्दै उनले यसको लागि आप्mनो दक्षता प्रदर्शन गर्न सबैमा अपिल समेत गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले शिक्षाको विकास गरेर नगरको समग्र विकास गर्नुपर्नेमा जोड दिए । नगरभरिका सामुदायिक विद्यालयहरुमा पठनपाठनको अवस्थामा अभैm सुधारको आवश्यक्ता उनले औंल्याए ।

प्रतिनिधिसभाको सफलताको कामना गर्दै नेपाल शिक्षक संघ मधेश प्रदेशका पूर्वअध्यक्ष मेघनाथ यादवले संघमा आवद्ध शिक्षकहरुलाई आप्mनो जिम्मेवारी निर्वाह गरेर अघि बढ्नको लागि आग्रह गरे । तीन तहको सरकार गठन भएपछि सबैभन्दा बढी समस्याग्रस्त शिक्षा क्षेत्र बनेको उनले दावी गरे । स्थानीय तह मातहत जाँदा शिक्षा क्षेत्रमा बेथिति बढ्दै गएको उनले दावी गरे ।

नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले पनि शिक्षा क्षेत्रको बेथितिप्रति चिन्ता व्यक्त गरे । शिक्षा क्षेत्रको समस्या समाधान गर्न जनप्रतिनिधिहरुलाई गंभीर हुनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष समेत रहेका मावि बसहियाका प्रअ महावीर दास, संकटमोचन माविका प्रअ बलराम साह, मावि बिन्धीका प्रअ देवेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१२ वटा मावि रहेको जनकपुरधाम उपमहानगरपालिकाका झण्डै पाँच सय शिक्षक नेपाल शिक्षक संघमा आवद्ध रहेका छन् ।